News 24 Television
नेपालमा चीनको तीव्र सक्रियता, के छ रहस्य ?

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले सहयोगका योजना भन्दै नेपालमा नयाँ कामको थालनी गर्ने घोषणा गर्न थालेको छ । नेपालमा चिनियाँ उच्चस्तरीय भ्रमण पनि उस्तै बाक्लिएको  छ । यसरी चीनले दिन खोजेको सन्देश र सत्ता समीकरणमा आउन सक्ने सम्भावित संकटलाई केन्द्रमा राखेर भइरहेका गतिविधिले मुलुकमा नयाँ चासो बढाइदिएको छ । 

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइडोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहेका सुनले प्रधानमन्त्री प्रचण्डसँग चीनले नेपालका लागि गरेको उत्साहप्रद निर्णय समेत सुनाएको बताइएको छ । यस्तै, सुनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नत्ति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको आवश्यक सहयोग रहने विश्वास समेत दिलाएका छन् । 

नेपाल भ्रमणमा रहेका सुनले राजनीतिक दलका शीर्ष नेतादेखि उच्चपदस्थलाई समेत भेट्ने कार्यक्रम रहेको छ । पछिल्लो समय नेपाल–चीन उच्चस्तरिय भ्रमण तीब्र बनिरहेको छन् । भने चीनले नेपालमा वामपन्थी बाहुल्यताको सरकारलाई निरन्तरता दिन चाहेको समेत बताइन्छ । नेपालमा फेरि सत्ता समीकरण फेरिन सक्ने आंकलन समेत उत्तिकै छ । 

१५ दिनभित्र तीन उच्चस्तरीय भ्रमण 

पछिल्लो १५ दिनभित्र नेपालमा चीनकातर्फबाट तीन उच्चस्तरीय भ्रमण भइसकेका छन् । केहिदिन पहिलेमात्रै प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले शिष्टाचार भेट गरेका थिए । यस लगत्तै चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङले पनि नेपाल भ्रमण गरिसकेका छन् । 

अहिले सोमबार फेरि चिनियाँ उपविदेशमन्त्री सुनले प्रधानमन्त्रीसँग भेट गरेका छन् । उपविदेशमन्त्री सुन नेपाल र चीनबीचको सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकका लागि नेपाल आएको बताइएको छ । मंगलबार बस्ने यस बैठकमा सीमा व्यवस्थापन, व्यापार, लगानी, आपसी सहयोग लगायतका विषयमा छलफल हुनेछ । यसै बैठकमा सम्भवत चीनले नेपालमा छिमेकी विकासको नीतिका नाममा केही सहयोगको निर्णय गर्ने छ । 

अर्थपूर्ण सक्रियता

चीनले देखाइरहेको सक्रियतामा अनेक आशंका गर्न थालिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरणमा कांग्रेसलाई सहभागी गराउने विषयमा भारतमा ग्रिन सिग्नल दिएसकेको चर्चा छ । 

यस्तोमा प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटमा कांग्रेस लचक भएर पेश हुँदा एमालेका सांसदहरु उत्तेजित बनिरहेका छन् । प्रचण्डलाई पनि सत्ता समिकरण फेर्ने सजिलो मौका आएको देखिन्छ । 

कांग्रेससहितको समिकरणका लागि दक्षिणले सक्रियता थप बढाएपछि चिनियाँ चासो पनि नेपालमा बढेको विश्लेषण समेत भइरहेका छन् । नेपालको सत्ता समिकरण फेर्ने विषयमा शक्ति राष्ट्रहरुले चलखेल गर्न थालेको टिप्पणी चलिरहेको बेला के सत्ता समिकरणमा वामपन्थी बाहुल्यता कायम रहला वा के होला ? यसबारे बजेट पारित हुनेदिनसम्म प्रष्टता आउने आकलन गरिएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update