News 24 Television
नेकपा एस : पार्टी सानो नेत्तृत्वमा हानाथाप 

काठमाडौं । नेकपा एकीकृत समाजवादी यतिबेला महाधिवेशनको संघारमा छ । महाधिवेशनमा लागि पार्टीको तयारी तीब्र छ । 

महाधिवेशनका लागि प्रतिनिधिहरु छनोट गर्ने कामहरु समेत पूरा भइसकेका छन् । तर पार्टीको आगामी नेतृत्व भने कसले हात पार्ला त्यो अन्योलको विषय बनेको छ । 

अध्यक्ष माधव नेपाल सर्वसम्मतिबाट नेतृत्व हत्याउने दाउमा छन् भने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि पार्टी अध्यक्षको आकांक्षी छन् । 

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको महाधिवेशन यहि असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । 

पार्टी विभाजन भई नयाँ पार्टी गठन भएको दुई वर्ष मात्रै भए पनि समाजवादीले आसन्न महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ । नेकपा एमालेले भने यसअघि चितवनमा दशौं महाधिवेशन गरिसकेको छ । 

माधव नेपाल नेतृत्वमा पार्टी विभाजन भएपछि शुरुदेखि नै नेपाललाई साथ दिएका झलनाथ खनाल पार्टीको सम्मानित नेताका रुपमा रहँदै आएका छन् भने प्रदीप नेपाल झलनाथकै हाराहारीका पदविहिन छन् । 

७९ सालको आम निर्वाचनमा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका घनश्याम भुसाल केही समयअघि मात्रै पार्टी प्रवेश गरी महासचिव पद हत्याए । हाल यो पार्टीको पदविहिन दुई नेतासहित पदाधिकारी मात्रै २१ जना छन् । 

धर्मनाथ प्रसाद साह र जयन्ती राई गरी ७ जना पार्टीका उपाध्यक्ष छन् । उपमहासचिव ४ र सचिव ६ जना छन् । आसन्न महाधिवेशनमा यहि पदाधिकारीभित्रका नेताहरु पार्टी नेतृत्वदेखि महासचिवको आकांक्षी देखिएका छन् । पार्टीमा जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तबारेमा एक मत छैन ।

झलनाथ र घनश्याम जबजको सान्दर्भिकता सकिएको बताइरहेका छन् भने माधव नेपाल जबजको रक्षामै छन् । महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने लाइनमा रहेका माधव नेपाल भने कम्युनिस्ट आन्दोलनमा देखिएको विकृति विसंगतिविरुद्ध आफूले एक्लैले विद्रोह गरेको भन्न थालेका छन् । 

सम्मानित नेता खनाल भने नेपाललाई सर्वसम्मत अध्यक्ष दिने पक्षमा छैनन् । आगामी महाधिवेशनले नयाँ नीति र सिद्धान्त पारित गर्ने खनालको विश्वास छ । उनीपछि सहमतिका आधारमा पार्टी नेतृत्व लिने दाउमा छन् । मुलभूत रुपमा सहमति गरेका दस्तावेजमा महाधिवेशनमा गहन ढंगले छलफल हुने खनालको भनाई छ । 

खनाल मात्र होइन, महासचिव भुसाल पनि पार्टी नेतृत्व हत्याउने योजनामा छन् । खनाल र भुसाल दुवै पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा ब्यस्त छन् । पार्टी महासचिवमा पनि आधा दर्जन बढी आकांक्षी छन् । उपाध्यक्षका आकांक्षी पोलिटब्यूरो सदस्य मेटमणि चौधरी भने नेतृत्वमा माधव नेपालको विकल्प नरहेको बताउँछन् । 

हालका उपमहाचिव रहेका नेताहरु पार्टी महासचिवको आकांक्षी छन् । हालका उपमहासचिवहरु प्रकाश ज्वाला, डा. विजय पौडेल, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा मात्र होइन, पार्टी विभाजनका बेला साथ दिएकी सचिव रामकुमारी झाँक्री पनि महासचिवको दाउमा छिन् ।

नीति र सिद्धान्तको लडाईँ मात्र होइन, पार्टी नेतृत्वदेखि पदाधिकारीमा देखिएको दर्जनौंको महत्वाकांक्षा कसरी हल होला, अहिले नै भन्न कठिन छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update