काठमाडौँ । संसदमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा सांसद र प्रधानमन्त्रीबीच प्रत्यक्ष सवालजवाफ भएको छ । मंगलबार प्रतिनिधि सभामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा उनको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नहरूको जवाफ दिए । सो क्रममा राप्रपाका सांसद ज्ञानेन्द्र शाही र प्रधानमन्त्रीबीच भनाभनकै स्थिति देखियो । सांसद शाहीले देशमा सरकार र प्रधानमन्त्री छ कि छैन ? भन्दै संसदमै रहेका प्रधानमन्त्रीलाई हाँक दिएका थिए । उनले रुसी सेनामा गएका नेपालीहरू स्वदेश फर्काउनेबारे के पहल भयो, प्रधानमन्त्री छ कि छैन भनेर प्रश्न गरेका थिए ।
शाहीको उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यो देशमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री रहेको जानकारी गराए । प्रचण्ड प्रधानमन्त्री भएकाले नै राति १२ बजेसमेत रुसी युद्धमा रहेका नेपालीसँग फोनमा कुरा हुने गरेको जवाफ दिए । सरकारले पठाएर उनीहरू रुसी सेनामा नगएको तर पनि आफूले राति १२ बजे उनीहरूसँग फोनमा राय लिएर फिर्ता बोलाउन पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
पछिल्लो समय सरकार र प्रधानमन्त्रीको आलोचना बढ्दै गएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि सत्ता पक्षकै र प्रतिपक्षका सांसद तथा नेताहरू असन्तुष्ट भइरहँदा सरकारका अन्य गतिविधिबारे पनि प्रश्नहरू उठिरहेका छन् । राजदूत फिर्ता र नयाँ राजदूत नियुक्ति सिफारिसमा पनि सरकारको चर्को आलोचना भएको छ । यसअघि काँग्रेसको कोटाबाट विभिन्न देशमा नियुक्त भएका राजदूत फिर्ता बोलाएर प्रधानमन्त्री प्रचण्डले सत्तारुढ एमाले र रास्वपा लगायत दलसँग भागबण्डामा नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढाएका छन् । आलोचना बढेपछि मंगलबार प्रधानमन्त्री प्रचण्डले राजदुत नियुक्त प्रक्रियामा देखिएका कमजोरी सच्याएर लागु गर्ने जवाफ दिए ।
सोमबार काँग्रेस सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? भन्दै संसदमै आपत्तिजनक प्रश्न गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नै आफ्नै क्याबिनेटका मन्त्रीहरूले आफूलाई टेर्न छाडेको अभिव्यक्ति दिएपछि यसमा टेकेर पनि काँग्रेस सांसदहरूले विरोध चर्काएका छन् । सांसद पौडेलले मन्त्रीले नै टेर्न छोड्नुभन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरेका थिए । त्यसअघि काँग्रेस महामन्त्री गगन थापाले पनि आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसक्ने हो भने प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्न हाक दिएका थिए ।
काँग्रेसकै अर्का सांसद तथा प्रमुख सचेतक रमेश लेखकले सोमबार देशमा प्रधानमन्त्री हैन, जादुगर रहेको भन्दै व्यंग्य गरेका थिए । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो दलको संख्या केवल संख्या नभएर जादुको नम्बर रहेको बताएका थिए । सोही कुराप्रति व्यंग्य गर्दै लेखकले देशलाई राम्रो प्रधानमन्त्री चाहिएको बेला प्रचण्ड जादुगर प्रधानमन्त्री भएर आएको टिप्पणी गरे ।
सोमबारै राष्ट्रिय सभामा काँग्रेस सांसद कमला पन्तले प्रधानमन्त्री प्रचण्ड सत्तामा बढी केन्द्रित भएको र देश तथा जनताका समस्याप्रति संवेदनशील नरहेको आरोप लगाउकी थिइन् । उनले गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइन् । त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीले पनि गृहमन्त्रीलाई राजीनामा दिलाउन नसकेको भन्दै सत्ता ठूलो कि मुलुक ठूलो भनेर प्रश्न गरेकी थिइन् ।
यसरी पछिल्लो समय विपक्षी दलका सांसदहरूले संसदभित्र र बाहिर प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना गरिरहेका छन् । प्रधानमन्त्रीले एउटा कुरा भन्ने तर व्यवहारमा अर्कै कुरा लागु गर्ने प्रवृत्ति बढेकाले अब त संसदमा उभिएर जवाफ दिँदा पनि सांसदले नपत्याउने स्थिति सृजना भएको छ । सांसदहरूले पनि केवल सरकारको खोइरो खन्नकै लागि तानाबाना बनाएर संसदमा आपत्तिजनक प्रश्न समेत सोध्ने प्रवृत्ति बढेको छ, यसले संसदीय अभ्यासलाई अमर्यादित समेत बनाउँदै लगेको देखिन्छ ।
