News 24 Television
प्रचण्डको निवासमा बाबुराम, आउला नयाँ ट्विस्ट ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । गोरखाका जनताको अपमान गरेको दाबी गर्दै प्रचण्डमाथि आक्रोश पोखिरहने बाबुरामले प्रचण्डलाई बुढीगण्डकी करिडोर निर्माणका लागि बुझाएको पत्र र पछिल्ला घटनाक्रमलाई लिएर नयाँ चर्चा शुरु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । 

प्रचण्डलाई ज्ञापनपत्र बुझाएका बाबुरामले बुढीगण्डकी करिडोर निर्माण गर्ने उद्देश्य नदेखिएको भन्दै प्रचण्डलाई गम्भीरतापूर्वक काम गर्न अपिल मात्रै गरेका छैनन्, उनले माग पुरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । बाबुराम र प्रधानमन्त्री प्रचण्डबीचको यो भेट लामो समयपछिको हो । 

कालीगण्डकी करिडोरका लागि ज्ञापनपत्र बुझाउने क्रममा दुई नेताहरुबीच भएको यो भेटवार्ता र माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच चलिरहेको पछिल्लो विवादलाई समेत यसमा जोडेर हेर्न खोजिएको छ । 

माओवादी केन्द्र–नेसपा विवाद

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी गएको निर्वाचनमा एकल चुनाव चिन्ह लिएर चुनावमा होमिएका गरेका थिए । यसरी चुनावमा गइसकेपछि नेसपाबाट समेत केहि सांसहरु निर्वाचित भएका थिए भने त्यसमा महिन्द्र राय यादवको नेतृत्वमा प्राय नेताहरु बाबुरामसँग अलग्गिने र माओवादी केन्द्रसँग एकता गर्ने निर्णयमा पुगेपनि बाबुरामले एकता गर्न नसकिने आशय व्यक्त गरिरहेका छन् । 

यसको प्रभाव केहिसमय पहिले गण्डकीमा प¥यो । गण्डकीमा नेसपाका फणीन्द्र देवकोटा माओवादीको निर्वाचन चिन्हबाट निर्वाचित भएको र फ्लोर क्रस गरेको भन्दै माओवादीले गरेको कारबाहीपछि सर्वोच्चले दिएको आदेशले नयाँ बहस चलिरहेको छ । 

सर्वोच्चले मुद्दाको सुनुवाई नसकिएसम्मका लागि अन्तरिम आदेश जारि गरेपनि यो प्रकरण के होला भन्ने चासो उत्तिकै छ । यस्तोमा नेसपा–माओवादी केन्द्रबीचको विवादका कारण फणीन्द्र बिहीबार गण्डकी प्रदेशसभामा छिर्न नै पाएनन् । यसले पनि दुई पार्टीबीचको विवाद छताछुल्ल भएको बुझ्न कठिन छैन् । 

कम्युनिष्ट र समाजवादमा विवाद

प्रधानमन्त्री प्रचण्ड वामपन्थी विचारधारा छाड्न नसकिने भन्दै वामपन्थी एकताको पहल शुरु भइसकेको दाबी गरिरहेका छन् ।

प्रचण्डले वामपन्थी एकताबाट मुलुकको विकास समृद्धि हासिल गर्न सकिने र समाजवाद निर्माण गर्न सकिने दाबी गरिरेहेका छन् । 

प्रचण्डले यस्तो जिकिर गरेपनि बाबुरामले भने पुराना दलबाट वैकल्पिक शक्तिको अपेक्षा गर्न नसकिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता सहकार्यमाथि नै प्रश्न गरिरहेका छन् । बाबुरामले रास्वपालाई पुराना दलसँगको संगत छाडेमा मात्रै नयाँ युगमा जान सकिने भएकाले सहकार्यको प्रस्ताव गर्दै पुराना दल भन्दै आक्रोश पोखिरहेका छन् । 

लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेपनि बाबुराम–प्रचण्ड बेलाबेलामा मिल्ने प्रयास गर्ने गरेका छन् । उनीहरुको मिलाप तात्विक रुपमा सफल नभएपनि कमजोर बनिरहेको उनीहरुको धरातललाई बलियो पार्ने प्रयास गर्ने विषय भने चलिरहेको देखिन्छ । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update