काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ नगरसभा बैठकमा अनुपस्थित भएपछि बजेट र नीति तथा कार्यक्रम पारित गर्ने योजना रोकिएको छ ।
शुक्रबार बिहान ८ बजेका लागि बैठक आह्वान गरेपनि बालेन आफै बैठकमा अनुपस्थित भए । नगरसभा स्थगित गर्दै एकै दिन लाखौं रुपैयाँ घाटा लगाएका बालेनले अन्तिममा सामाजिक सञ्जालमा वीपी–मदनको नाममा माहोल तताउने प्रयास गरेको देखिन्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ अनेक गतिविधिले चर्चामा छन् ।
स्वतन्त्रबाट निर्वाचित भएका उनी सामान्यतया स्थानीयसँग भेटघाट गर्ने वा मतदातासँग प्रत्यक्ष सम्वादमा जोडिने गर्दैनन् । सिमित सल्लाहकारको घेराभित्र रहेका उनी महानगरपालिकामा मनमौजी ढंगले अघि बढ्न खोज्दा समस्या उत्पन्न हुँदै गएको छ ।
पेलेरै नगरसभालाई अघि बढाउन खोजेका मेयर बालेनलाई नगरसभा सदस्य र उपमेयर सुनिता डंगोलले दिएको जवाफले नै बालेनविरुद्ध महानगरमा विवाद चर्किएको बुझ्न कठिन छैन् ।
दलबाट निर्वाचित भएका नगर सदस्यहरुलाई दलीय धङ्धङ्गी बोकेर बैठक हलमा नआउन चेतावनी दिदै आएका बालेनलाई नगरसभा सदस्यहरुले चुनौति भने दिदै आएका छन् । तर, आगामी वर्षका लागि बजेट पारित गर्नुपर्नेमा बालेन आफै बैठक बहिस्कार गर्दै राजनीतिक रुपमा आरोप लगाउने ध्याउन्नमा जुटेका छन् ।
शुक्रबार के भयो ?
शुक्रबार बिहान ८ बजेदेखि नगरसभा बैठक बस्ने भनिएको थियो । मेयर बालेनलाई नगरसभा सदस्य र कर्मचारीहरुले बिहान ११ बजेसम्म राष्ट्रियसभागृहमा कुरेर बसे । तर, बालेनले गएरातिदेखि नै मोबाइल अफ गरेर बसिदिए ।
त्यसपछि शुक्रबारका लागि तय भएको नगरसभा मेयरको अनुपस्थितिका कारण स्थगित भयो । नगरसभा बालेनको अनुपस्थितिका कारण स्थगित हुन पुगेछि बालेनले दलबाट निर्वाचित भएकाहरुमाथि आक्रोश पोख्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरे । अहिले बालेनको पोस्टमा अनेक प्रतिक्रिया आउनेक्रम चलिरहेको छ ।
बालेनको आरोप के छ ?
मेयर बालेनले कांग्रेस–एमालेमाथि कडा शब्दमा आक्रोश पोखेका छन् । कांग्रेस–एमालेले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौं रकमको कार्यक्रम राखौं भनेपछि आफुले शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालको नाममा गरौं भनेको र सहीदको योगदानको विषयमा कुरा नमिलेको आशय व्यक्त गरेका छन् । यतिमै नरोकिएका बालेनले बैठकमा आफू अनुपस्थित भएपनि नगरसभा सदस्यले नगरसभा बैठक रोकेर गएको आरोप समेत लगाएका छन् ।
सहीदको नाममा गलफत्ति
सहीद राष्ट्रका साझा सम्पत्ति हुन् । चार सहीद हुन् वा अन्य सहीदहरु नै किन नहुन, मुलुकका लागि प्राण त्याग गर्नेहरु सबैको योगदान बलियो र बराबरीको हिसाबले हेर्नुपर्ने हुन्छ । तर, बीपी कोइराला र मदन भण्डारीको नाम लिएर बालेनले गर्न खोजेको राजनीति भने अराजकताभित्र पर्नेमा दुविधा छैन् ।
बीपी र मदन कुन पार्टीका थिए भन्नेभन्दा पनि उनीहरुले राष्ट्रका लागि कस्तो योगदान दिए भन्ने प्रमुख विषय हो । मुलुकलाई आजको स्थितिसम्म ल्याइपु¥याउन योगदान गर्ने सबैको सम्मान र इतिहासको स्मरणबाट मात्रै मुलुक सुखी र समृद्ध बन्ने भएकाले सार्वजनिक पद धारण गरेको व्यक्तिले कसैलाई अवमूल्यन गर्ने गरि राजनीति गर्न खोज्नु दुर्भाग्यको विषय बन्न सक्नेतर्फ सचेतता आवश्यक छ ।
रोकियो उपमेयरको विदेश भ्रमण
उपमेयर सुनिता डंगोलले यहि असार १५ गतेका लागि पोर्चुगल भ्रमणमा जाने कार्यतालिका बनाएकी थिइन् । तर, नगरसभा विवादमा फसेपछि सुनिताले विदेश भ्रमणमा जाँदा नगरसभा चलाउन असहयोग गरेको आरोप लाग्ने भन्दै विदेश भ्रमण रोकेकी छन् ।
विदेश भ्रमणमा जाँदा असहयोग गरेको भन्ने सन्देश जाने र बालेनले पनि दलमाथि आक्रोश पोखेकाले गलत अर्थ लाग्ने डरले उनी विदेश जानबाट रोकिएको बताइएको छ ।
