काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमयी निधनपछि उनीबारे थुप्रै कथ्य रचिएका छन् ।भण्डारीको निधन दुर्घटना वा हत्या ? यो विषय रहस्यको गर्भमै छ । तर, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाददेखि उनले छाडेर गएका वामपन्थी विचारधारामा विभिन्न कोणबाट बहस भइरहेको छ ।
दासढुंगामा सवारी दुर्घटनामा परि मदन भण्डारीको रहस्यमयी निधन भयो । भण्डारीको रहस्यमयी निधनबारे अहिले पनि हत्या वा सडक दुर्घटना भन्ने विषयको विवाद कायमै छ ।
एमालेले भने मदनको हत्या भएको दाबी गर्दै आएको छ । तर, मदनको हत्या भएको दाबी गर्ने एमाले र यो पार्टीका नेताहरुले पटक–पटक सरकारको नेतृत्व गरि सकेका छन् ।
यतिमात्रै होइन मदनकी धर्मपत्नी विद्यादेवी भण्डारीले नै राष्ट्रपतिको दुई कार्यकाल पुरा गरिसकेकी छन् । तर, उनीहरुकै समयमा पनि यस विषयमाथिको अनुसन्धानले गति लिएन ।
त्यसैले पनि एमालेले नै यो विषयमा अनुसन्धान गर्न नचाहेको भन्दै आलोचना हुने गरेको पाइन्छ । यहि क्रममा एमालेले विभिन्न कार्यक्रम गरि शुक्रबार देशैभर मदन भण्डारीको ७२ औं जन्मजयन्ती मनायो ।
यहि अवसरमा एमाले अध्यक्ष केपी ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अग्रगमनकारी कम्युनिष्ट सिद्धान्त भएको दाबी गरे । ओलीले जबज व्यवहारिक रुपमा सहि भएकाले पनि सबै कम्युनिष्ट पार्टीहरु एमालेमा आद्ध हुनुपर्नेमा जोड दिइरहेका छन् ।
ओलीले जबजलाई केहि नेताहरुले स्वार्थअनुसार व्याख्या र प्रयोग गर्न खोज्ने काम गरेको भन्दै आक्रोश समेत पोखे । अहिले नेकपा एकीकृत समाजवादी पार्टीभित्र समाजवादको बहसपछि जबज पछि परेको अवस्था छ ।
यस्तोमा ओलीले लामो समय एमालेको नेतृत्वमा रहेका नेताहरु माधव–झलनाथप्रति आक्रोश पोख्न खोजेको देखिन्छ । मदनको स्मरण मदन भण्डारी तत्कालीन समयमा एमालेको महासचिव निर्वाचित भएका थिए ।
महासचिव बनेका भण्डारीले जनताको बहुदलीय जनवाद सिद्धान्तको प्रतिपादन गरेपछि यसलाई एमालेको २०४९ माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनमा पारित गराएका थिए ।
त्यो बेला केहि नेताहरुले चर्को विरोध गरेपनि जबज बहुमतले पारित भएपछि एमालेले यसलाई स्वीकार गरेको थियो । त्यो बेला जबजको विरोध गर्नेहरुमा सीपी मैनाली, झलनाथ खनाल लगायत नेताहरु रहेको बताइन्छ ।
जबज ल्याएपछि चर्चामा आएका मदन साहसी र बोल्न नडराउने नेतामा पर्थे । तत्कालीन राजालाई समेत खुला चुनौति दिदै राजनीतिमा आउन चेतावनी दिने मदनले चुनाव लड्न तयार हो भन्दै प्रश्न समेत गर्ने गर्थे ।
जनतामा लोकप्रिय बन्दै गएका मदनको छवि पार्टी र जनतामा व्यापक बन्दै गरेको अवस्थामै उनको रहस्यमयी निधन भएको थियो ।
