News 24 Television
वामपन्थी बाहुल्यमै हराएका कम्युनिस्ट नेता र एकताको चर्चा

काठमाडौं । कम्युनिष्ट पार्टीका नेताहरु एकता भन्ने शब्दलाई गज्जबले प्रयोग गर्ने गर्छन् । वामपन्थी एकता तत्काल आवश्यक रहेको र समाजवाद निर्माणका लागि सहकार्य गर्नैपर्ने दाबी गरेपनि उनीहरु एकतामा आउन नै तयार देखिन्नन् । 

वामपन्थी बाहुल्य मुलुकमा पनि वामपन्थी दलका नेताहरु किन जनमत संकटको घेरामा रुमल्लिदैछन त ?  पुष्पलाल श्रेष्ठलाई सम्मान गर्ने र उनलाई राष्ट्रिय विभुति घोषणा गर्नेसम्मका विषय प्राय उठ्ने गर्छन् । 

पुष्पलालसहितका नेताहरु मिलेर नेपालमा कम्युनिष्ट आन्दोलनको शुरुवात गर्ने साहस गरेपछि फक्रिएको वामपन्थी जनमत अहिले पनि नेपालमा उल्लेख्य देखिन्छ । 

विश्वमै संकटतर्फ गइरहेको वामपन्थी जनमत नेपालमा राम्रो भएपनि दल र नेताहरु छुट्टाछुट्टै दल खोलेर हिड्ने गर्नाले जनता झुक्किन पुगेको देखिन्छ । तर, छुट्टै दल र अस्थित्व राख्नुपर्छ भन्ने मान्यता बोक्ने दल र नेताहरु एकताको कुरा गर्न भने पछि पर्दैनन् । 

माले महासचिव मैनाली एकता र सहकार्यको आवश्यकता देखेपनि उनी छुट्टै दल खोलेर बसिराखेका नेता हुन । यस्तै, नेकपा क्रान्तिकारी माओवादी र नेकपा पनि वामपन्थी एकताको पक्षमा देखिन्छन् । 

अझं नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ त पुष्पलाललाई राष्ट्रिय विभुति नै घोषणा गर्नुपर्ने माग राखिराखेका छन्। 

छिन्नभिन्न रहेको अवस्थामा धेरै अघि बढ्न नसकिने बुझेका नेताहरु मञ्च सेयर गर्दा भने एकता गरिहाल्नुपर्नेमा जोड दिन थालिहाल्छन् । 

दलहरुले एकताको पक्षमा आह्वान गरेपनि एकताको मोडालिटीदेखि अन्य विषयमा भने खास बहस गरेको देखिन्न । यहि पेरिफेरीमा नेकपा एमाले पनि वामपन्थी एकताको खाँचो देखिरहेको बताइरहेको छ । 

एकताको पक्षमा नेताहरुले धारणा राखेपनि विगतमा भएका एकता दिगो हुन सकेको भने देखिन्न । वामपन्थी एकताको प्रयास गर्दै एमाले–माओवादीबीच बिग मर्जर भएपनि त्यो दिर्घकालीन बन्न सकेन् । 

यो विषयबाट पनि धेरै पाठ सिक्नुपर्नेमा नेताहरुले समान धारणा राख्ने गरेका छन् । तर, एकताभन्दा धेरै फूटका घटना बाहिरिने गरेका कारण जनतामा भने अलमल र अन्योलता देखिन्छ । 

यस्तो स्थितिमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पुष्पलालमा केन्द्रित बनेर वामपन्थी एकता गर्न आह्वान गरेका छन् । 

लोभग्लादो वामपन्थी जनमत

वामपन्थी एकताको पुर्वसन्ध्यामा भएको २०७४ को निर्वाचनमा माओवादी केन्द्र र एमालेले झण्डै दुई तिहाई मत प्राप्त गरे । 

पछिल्लो समय पनि लोकप्रिय मतमा एमाले अघि छ भने वामपन्थी दलहरुको समग्र मत हेर्दा वामपन्थी बाहुल्यता नै बढि देखिन्छ । तर, दल र नेताहरु भने सानो भएपनि पार्टी चलाउने र स्वार्थ लिने विषयमै केन्द्रित देखिन्छन् । 

मालेमावादको विषयमा मात्रै नभई नेताहरु विभिन्न विषयमा अल्झिएका वामपन्थीहरु जनमतलाई उपयोग गर्दै समाजवादतर्फ जानेभन्दा पनि आपसी लडाई झगडा गरेर नै समय खेर फाल्नेमै केन्द्रित देखिन्छन् ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update