काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा असार १६ देखि महाधिवेशन गर्ने तयारी पुरा गरेको नेकपा एसभित्र नेतृत्वको विषयलाई लिएर विवाद देखिएको छ भने वामपन्थी आन्दोलनमा यो महाधिवेशनले उथलपुथल ल्याउने दाबी नेताहरुले गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टी एमालेबाट विभाजनपछि पहिलो महााधिवेशनमा जुटेको छ । देशभरबाट प्रतिनिधि काठमाडौं उतारेको नेकपा एसको महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु उपस्थित हुने दाबी गरिएको छ भने नेतृत्वको विषयमा समेत पेचिलो बहस चलिरहेको छ । तर, नेकपा एसका अध्यक्ष माधव नेपाल भने सहमतिमै नेतृत्व टुंगो लगाउनुपर्नेमा कार्यकर्ताको ध्यान गएको दाबी गरिरहेका छन् ।
माधवले सहमतिको रटान लगाइरहँदा सम्मानित नेता झलनाथ खनाल सहमतिको लेपमा लोकतान्त्रिक प्रक्रियाको बहस गरिरहेका छन् । उनले चुनाव भन्दै सिधा भाषाको प्रयोग नगरेपनि उनले चुनाव गर्ने पक्षमा रहेको संकेत भने दिइरहेका छन् ।
नेता खनालले चुनाव भए समर्थन गर्ने भनिएका अध्यक्षका प्रत्यासी पार्टी महासचिव समेत रहेका घनश्याम भुसाल पनि चर्को दौडमा छन् ।
नेतृत्व लिएर पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने दाबी गरिरहेका भुसालले नयाँ वाम विकल्प दिने गरि अघि बढ्ने दाबी गरेका छन् ।
अध्यक्षको दौड
अध्यक्षको दौडमा रहेका तीनै नेताहरुमा भुसाल अहिले महासचिव छन् । नेकपा एस विभाजनमा एमाले रोजेका भुसाल गएको निर्वाचनमा आफूलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र हुँदै नेकपा एसको महासचिव पदमा आइपुगेका हुन् ।
वौद्धिक र चिन्तकको रुपमा चिनिने भुसाललाई पार्टी नेतृत्व दिने मामलामा झलनाथ खनाल पनि सकारात्मक बनेको बताइन्छ ।
नेकपा एसभित्रको विवाद चर्को भएपनि नेताहरुले त्यसलाई सकेसम्म बाहिर सार्वजनिक गर्ने मुड देखाएका छैनन् । तर, अध्यक्षमा त्रिकोणातमक भिडन्त हुने निश्चित भएपछि सर्वसम्मतिले अध्यक्ष बन्न चाहेका माधव नेपाल र झलनाथ खनालको इच्छामा भुसालले निर्वाचनको माहोल सिर्जना गरेर अघि बढ्ने संकेत देखाइरहेका छन् ।
वामपन्थी आन्दोलन र नेकपा एस
छिन्नभिन्न रहेका वामपन्थी दलहरुको एकता, एकीकरण र धु्रविकरणको कुरा उठ्ने विषय पुरानो होइन् । तर, वामपन्थीको मिलाप सहज भने देखिन्न ।
सानो स्वार्थमा समेत छुट्टिने गरेका वामपन्थीहरु आफ्नो पार्टीको जनमत जस्तो भएपनि आफैलाई सबैभन्दा महत्वपूर्ण ठान्ने र दम्भ पालेर बस्ने गरेका कारण नै वामपन्थी मत संकटतर्फ धकेलिदै गएको छ । तर, नेकपा एसले महाधिवेशनबाट कस्तो विचार पारित गर्छ र यसले नेपालको वामपन्थी आन्दोलनलाई दिशा निर्देश गर्ने बाटो समात्न सक्छ वा सक्दैन भन्ने विषयले धेरै कुरा थाहा हुनेछ ।
