काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुलाई एउटै ठाउँमा राखेर संसद प्रभावकारी बन्न नसक्ने बताएका छन् ।
आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै उनले समावेशिता कहाँ राख्ने भन्ने कुराको यकिन हुन आवश्यक रहेको बताए । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरु भएको संसद बराबर हुनै नसक्ने बताए । उनले महिलाहरुका लागि छुट्टै, जनजाति, मधेसी, थारुहरुका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी रहेको बताए ।
‘समावेशिता यो संविधानको सबैभन्दा राम्रो पक्ष हो,’ उनले भने, ‘तर समावेशिता कहाँ राख्ने, प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरु भएको संसद बराबर हुनसक्छ ? तपाईंहरुले कहिल्यै यो कुरा सोच्नुभएको छ । त्यसकारण समावेशितालाई ठिक ठाउँमा राख्नुस् । महिलाहरुको लागि पनि प्रत्यक्ष निर्वाचन गराइदिनुस् । जनजाति, मधेसी, थारुहरुका लागि गरिदिनुस् । तर समावेशी र प्रत्यक्ष निर्वाचित एक ठाउँम नराख्नुस् । दुवैलाई कस्तो कस्तो उदासिनताको भाव छ । एउटा लघुताभाषा छ । एउटा प्रत्यक्ष निर्वाचित भएर आउँछ, एउटा पार्टीबाट समावेश भएर आउँछ । त्यो पार्टीबाट पनि कसरी आउँछ, पार्टीका नेतालाई थाहा हुँदैन । कुन गुट र कसको खल्तीबाट आउँछ । त्यस्तो समावेशिता र प्रत्यक्ष निर्वाचित दुई सांसद एक ठाउँमा बस्दा संसद कहिल्यै पनि प्रभावकारी हुन सक्दैन ।’
