News 24 Television
देउवा–ओली भेटपछि प्रचण्डले पनि बढाए सक्रियता  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि राजनीति फेरि तरङ्गित छ । 

दुई नेताको छलफलपछि अनेक अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले पनि सक्रियता बढाएका छन् । तर, यो दौडधूपको खास अन्तर्य के हो त ? 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई लिएर शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास छिरे । 

उनीले त्यहाँ झण्डै तीन घण्टा समय बिताए । तर, यो छलफल किन र के का लागि भयो भन्ने विषयमा कसैले पनि बताउन मानेनन् । कांग्रेस–एमालेको यो छलफललाई गोप्य राख्न खोजेपनि यो समाचार बालुवाटारबाटै व्यापक बन्यो । 

बालुवाटारमा ओलीको निवासमा लामो छलफल चलिरहेको सूचना सार्वजनिक हुनुअघिसम्म यो छलफललाई गोप्य राख्ने प्रयास नगरिएको भने होइन । तर, यो छलफलपछि आइतबार बिहानै प्रधानमन्त्री प्रचण्डले केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग वार्ता गरेका छन् । 

सिंहदरबारमा भएको छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले देउवा–ओलीको छलफलको विषयमा चासो राख्दा सामान्य छलफल मात्रै भनेका ओलीले विस्तृत नबताए पनि सत्ता सहकार्यदेखि अनेक विषय रहेको बुझिन्छ । तर, यस्तो नहोस भनेरै प्रधानमन्त्री प्रचण्डले सक्रियता बढाइसकेका छन् । प्रचण्डको सक्रियताका बीच ओली–देउवाको छलफलले सार्थकता पाउला ? वा अर्थपूर्ण बन्ला ? शंका छ । 

ओली–प्रचण्डबीच सोमबार पनि भेटवार्ता गर्ने सहमति जुटेको छ । तर, कांग्रेसले सत्तामा आउन गरेको संकेत र सत्ता साझेदारीमा देउवाको प्रस्तावलाई भने रहस्यमयी ठानिएको छ । माओवादी केन्द्रका नेताहरु पनि भावी राजनीतिबारे सचेत ढंगले कदम चाल्नुपर्ने र दुई दल मिल्छन् भने मिल्न दिनुपर्छ भन्नेमा केन्द्रित बनेको बताइन्छ । 

देउवाको अर्थपूर्ण सक्रियता

हुनत, शेरबहादुर देउवाले पत्नी आरजु राणालाई लिएर बालकोट जानुको विषय भने नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा वेचन झा पक्राउ परेपछि कांग्रेस सभापति पत्नी आरजुको मनमा ढ्याङ्ग्रो बज्न थालेको कतिपयको विश्लेषण छ । आरजुले आफूमाथि राजनीतिक रुपमा अनावश्यक आरोप लगाएर बद्नाम गर्न खोजिएको भन्दै पटक–पटक यो विषयमा स्पष्टीकरण दिइसकेकी पनि छन् । 

संसदमै आरजुले जवाफ दिएपनि झा पक्राउ परेपछि भने नयाँ तथ्य खुल्ने अपेक्षा गरिएको छ । वेचनको आरजुका भाई भूषण राणासँग व्यवसायीक चिनजान रहेको र भुषणमार्फत नै वेचन आरजुसँग नजिकिएको दाबी गरिन्छ । 

उसोतः वेचनको नक्कली शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसँग समेत राम्रो चिनजान रहेको खुलेको छ । 

सुरक्षा निकायले पनि वेचनको पक्राउलाई अर्थपूर्ण रुपमा लिएको छ भने प्रमाण नष्ट भएकोबाहेक खण्डमा धेरै नेताहरुसँगको नेक्सस खुल्ने अपेक्षा गरिएको छ । यस्तो हुँदा कांग्रेस सभापति देउवा सरकारमा सहभागी भएर कतै वेचन झा र आरजुको कनेक्सनमाथि तलमाथि गर्ने सोचेका त छैनन् ? आशंकाका आधार देखिन्छन् । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update