News 24 Television
घनश्याम जीवनमा ‘दश’को संकट, यस पटक लाग्ला पार ?  

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव समेत रहेका नेता घनश्याम भुसालको राजनीतिक जीवन महाधिवेशनको समान अंकमा अड्किएको छ । 

राजनीतिक जीवनमा यस पहिले एमालेको दशौं महाधिवेशनमा सहभागी थिए घनश्याम । अहिले उनी एकीकृत समाजवादीको दशौं महाधिवेशनमा होमिएका छन् । 

यसरी दुई पटक दशौं महाधिवेशनमा होमिएका घनश्याम भुसाल यो पटक राजनीतिक रुपमा उदाउने मौका पाउलान् त ? 

नेकपा एकीकृत समाजवादी पार्टी दशौं राष्ट्रिय महाधिवेशनमा होमिएको छ । महाधिवेशनमा नेताहरुका तयारी छुट्टाछुट्टै छन् । नेतृत्वका लागि निर्वाचन समेत हुनसक्ने आंकलन गरिएको छ । 

तर, सहमतिको साझा पार्टी निर्माणमा जोड भने दिन छाडिएको छैन् । तर, नेकपा एसका महासचिव घनश्याम भुसालको राजनीतिक जीवन भने प्रतिष्ठाको लडाई जस्तो बन्न पुगेको छ । घनश्याम भुसाल तत्कालीन नेकपामा केपी ओलीविरुद्ध प्रतिगमनको आरोप लगाउदै आन्दोलनमा होमिए । त्यसपछि सहमति गरेको भन्दै एमालेमै बसेका उनी गएको चुनावमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र बनिदिए । 

उनी स्वतन्त्र बन्नुअघि नै माधव नेपालको नेतृत्वमा एमाले विभाजन भइसकेको थियो भने माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टी चलिरहेको थियो । 

चुनावमा टिकट नपाउनुको कारण धेरैले धेरै अर्थ लगाएपनि कारण थियो, एमाले अध्यक्ष केपी ओलीले भनेको कुरा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नमान्नु । 

ओलीको इ्च्छाविपरित चुनावमा उठेका उनले ओलीको सर्वसम्मतिको प्रयासलाई सार्थक तुल्याउन दिएका थिएनन् । त्यसपछि उनी स्वतन्त्र बन्दै अन्ततः नेकपा एकीकृत समाजवादी पार्टीको महासचिव बने । 

नेकपा एसको महासचिव बनेका भुसाल अहिले फेरि कम्युनिष्ट पार्टीको दशौं महाधिवेशनमै होमिएका छन् । 

अहिले पनि उनी नेतृत्वको प्रमुख दावेदारकै रुपमा अघि सरेका छन् । अध्यक्ष माधव नेपाललाई चुनौति दिने तयारीमा जुटेका छन् । 

संयोगको महाधिवेशन

घनश्याम भुसालले वामपन्थी राजनीतिको क्रममा दशौं महाधिवेशनमा दुई पटक सहभागिता जनाइरहेका छन् । यस पहिले एमालेको दशौं महाधिवेशनमा सहभागी उनी अहिले नेकपा एकीकृतबाट राजनीतिक यात्राका क्रममा एकीकृतको पनि दशौं महाधिवेशनमा नै सहभागी छन् ।

यसरी दुई वटा दशौं महाधिवेशनमा दुई पटक सहभागी उनलाई अहिले पनि नेतृत्वको दौड र चुनावकै रटानले प्रश्न गरिरहेको छ । नेकपा एसभित्र चुनाव कि सहमति भन्ने विषयमा विवाद चल्दै गर्दा घनश्याम भुसाल भने अध्यक्ष बन्ने लाइनमा देखिन्छन् । 

अध्यक्ष बन्न चाहेका माधव नेपाललाई चुनौति दिने तयारी गरेका भुसाल एमालेकै स्थितिमा त पुग्ने होइनन ? नेकपा एसमा पनि उनको स्थिति फेरि एमालेको बहिस्करण जस्तै बन्ने त होइन ? आशंकाका थुप्रै ठाउँ छन् । तर, संयोगले दशौं महाधिवेशनमा दुई पटक सहभागी भएका भुसाललाई यो पटक कस्तो पद प्राप्त होला ? यो अबको तीन दिन भित्रै  थाहा हुने छ भने उनको आगामी राजनीतिक भविष्यको आकल त्यस पछिको समयले देखाउने छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update