News 24 Television
नेकपा एसको महाधिवेशन ओलीद्वारा बहिस्कार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दशौं राष्ट्रिय महाधिवेशनमा होमिएको छ । पार्टी महाधिवेशनको उद्घाटन सत्रमा एमालेबाहेकका दलका शीर्ष नेताहरु उपस्थित भए । 

नेताहरुले शूभकामना दिनेदेखि गणतन्त्रको उपलब्धिबारे चर्चा पनि गरे । तर, माओवादी केन्द्र र नेकपा एसबीच भने केहि रोचक प्रसंग उठे ।

एमालेबाट विभाजन भएको तीनवर्षपछि नेकपा एकीकृत समाजवादी पार्टी महाधिवेशनमा होमिएको छ । दशौं राष्ट्रिय महाधिवेशनमा होमिएको नेकपा एसलाई प्राय सबै पार्टीका शीर्ष नेताहरुले शुभकामना दिए । 

शुभकामना दिनेक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लोकतन्त्रलाई नेताबाटै खतरा रहेको र खतरा पैदा भए जनताले रक्षा गर्ने भन्दै कडिकडाउ अभिव्यक्ति दिए ।

रास्वपाजस्तै अन्य पार्टीका नेताहरुले समेत शुभकामना दिए । शुभकमना दिनेक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा नेकपा एसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 

शुभकामना दिन एमालेबाहेक दलका शीर्ष नेताहरु उपस्थित भएका थिए । उद्घाटन सत्रमै शुभकामना आदान प्रदानका समय माओवादीसँग भने नेकपा एसको रोचक परिदृष्य सृजना भयो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग सवाल–जवाफ नै चल्यो तर, त्यो रोचक शैलीमा थियो । 

माओवादी केन्द्र र नेकपा एसबीच रोचक सद्भाव

शुभकामना दिन मञ्चमा उक्लिएका प्रधानमन्त्री प्रचण्डले लामो भूमिका बाँध्दै शान्ति, गणतन्त्र र संविधानका लागि माधव नेपाल र नेकपा एसको भूमिका रहेको विषयमा वेलिविस्तार लगाए । 

विभिन्न पाटा पक्षमा अभिव्यक्ति दिएका प्रधानमन्त्री प्रचण्डले नेकपा एसको राजनीतिक दस्तावेजमा भने केहि रोचक टिप्पणी गरे । 

प्रचण्डले टिप्पणी गर्दै गर्दा नेकपा एसले आफूलाई अस्थिर भनेकोमा चित्त दुखाए । आफू अस्थिर नभएको भए मुलुक आज यो स्थितिमा आउथ्यो त भन्दै ? प्रश्न गरे । 

प्रचण्डले आफू अस्थिर नभई माक्र्सवादी, भौतिकवादी र गतिशिल भएकै कारण आजको नेपाल बनेको भन्दै नेकपा एसलाई प्रतिवेदनमा लगाइएको आरोपबारे सोच्न अपिल गरे । 

प्रचण्डले नेकपा एसको राजनीतिक प्रतिवेदनमा चित्त दुखाएपछि नेकपा एसका महासचिव घनश्याम भुसालले पनि रोचक शैलीमै जवाफ फर्काए । 

माओवादी जनयुद्धबारे प्रतिवेदनले धेरै कुरा बोलेको विषय उनले प्रष्ट्याए । भुसालले जनयुद्धलाई उच्च मूल्याङ्कन गरेको विषय समेत स्मरण गरे । 

एमालेप्रति व्यङ्ग्य

उद्घाटन सत्र समापनका क्रममा अध्यक्ष माधव नेपालले नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी र एमाले अनुपस्थित भएको जानकारीे गराए । तर, एमाले नेताहरुलाई सन्देश पठाएको कुरा वेलिविस्तार लगाउदै माधव नेपालले आलो घाउका कारण एमाले नआएको आरोप लगाए । उनले राजनीतिमा यस्ता विषय विर्सिनुपर्ने भएपनि एमालेले घटनाक्रम विर्सन नसकेको बताए ।

माधवले एमालेलाई गरेको निमन्त्रणा र उपस्थितिका लागि गरेको आग्रह विश्लेषण गर्दा एमाले महाधिवेशनको निमन्त्रणा स्वीकार नगर्ने मुडमा पुगेकै कारण नगएको देखिन्छ । केहिदिन पहिलेमात्रै पनि एमाले अध्यक्ष केपी ओलीले जनताको बहुदलीय जनवादलाई मान्ने नमान्ने विषयमा तर्क झिक्दै नेकपा एसप्रति व्यङ्ग्य कसेका थिए । 

माधव र नेकपा एसप्रति ओलीले यसरी नै समय समयमा तुष पोखिनै रहेका हुन्छन् । एमालेले यस्तो तुष पोख्नुमा पार्टी विभाजन र नेकपा एसले समाजवादमा जाने भन्दै राजनीतिक कार्यदिशामै फेरबदल गर्न लागेको परिपेक्षमा यस्तो भनेको शंका गरिएको छ । तर, एमालेले आफु महाधिवेशनमा किन नगएको भन्नेबारे औपचारिक जानकारी गराएको छैन । 

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update