काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने संकेत देखा पर्न थालेका छन् । संविधान संशोधनको मुद्दालाई लिएर कांग्रेस–एमाले मिल्ने बाटो खोजिरहेका छन् भन्ने सतही कुरा फैलाइएको छ । तर, यसको अन्तर्यमा अर्कै विषय रहेको चर्चा चलिरहेको छ । सत्ता समीकरणमा जादूयी नम्बर रहेको भन्दै कसैले चलाउन नसक्ने दाबी गरेका प्रचण्डको यो दाबी अब संकटमा देखिन्छ । अहिलेको सत्ता खेलमा बाहिरी कनेक्सनको चर्चा उत्तिकै छ । यी सबै परिस्थितिका बीच अबको सत्ता राजनीतिक परिदृष्य कस्तो देखिन्छ त ?
बार्गेनिङ नम्बर लिए्र बसेको भन्दै आफ्नो सत्ता सहभागिता पुरा कार्यकाल पनि जान सक्ने दाबी प्रधानमन्त्री प्रचण्डमा थियो । तर, एमाले–कांग्रेससँग खेलेर प्रधानमन्त्री पदमा आसिन भइरहेका प्रचण्ड अब सत्ता संकटतर्फ देखिन्छन् । एमाले प्रचण्डको विकल्प खोज्न तयार भएपछि कांग्रेसले सक्रियता थप बढाएको छ । संवादहीनताको अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहाददुर देउवा घण्टौं गफिन थालेका छन् । बालकोटदेखि विभिन्न स्थानमा देउवा–ओलीबीच पटक–पटक गोप्य वार्ता सम्पन्न भइसकेको बताइन्छ । तर, ओलीको निवासमा भएको वार्ताले भने तरङ्ग नै ल्याइदिएको छ ।
सक्रिय बने प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड ओली–देउवाको भेटपछि सक्रिय बनेका छन् । प्रचण्डले ओलीसँग आइतबार सिंहदरबारमा र सोमबार वालुवाटारमा लामो छलफल गरे । वालुवाटार छलफलमा ओलीले सत्ता समिकरण फेर्ने तयारी नभएको जानकारी दिएको प्रधानन्त्रीको सचिवालयको दाबी छ । लामो छलफलको क्रममा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपनि ओलीले आनाकानी गर्दै अनेक विषय झिकेपछि प्रधानमन्त्री प्रचण्डले समान धारणा बनाउ भन्ने प्रस्ताव राखेको बताइन्छ । प्रचण्डको प्रस्तावपछि ओलीले सत्ता समिकरण फेर्ने कुनै चाहना नरहेको दाबी गरेपनि उनको बडि ल्याङ्ग्वेज भने सकारात्मक नपाइएको बताइन्छ।
मिलन बिन्दु संविधान संशोधन
एमाले–कांग्रेस मिल्दा जनतालाई यो परिवर्तनको कारण भन्न सक्नुपर्ने अवस्था छ । यस्तोमा दुबै दलका नेताहरुले संविधान संशोधनको मुद्दालाई लिएर जाने र सत्ता सहकार्य गर्ने मोडालिटीमा छलफल गरिरहेको बताइन्छ । प्रचण्डलाई कांग्रेसबाट एमालेमा ल्याउँदा पनि एमाले नेताहरुले सरकार प्राथमिकतामा नरहेको विषय जता पनि बोल्ने गर्थे । त्यस्तै शैली अहिले पनि एमाले नेताहरुले अपनाइरहेका छन् । यस्तोमा अब सत्ता समिकरणमा अन्तर्राष्ट्रिय शक्तिको विषय जोडिन नआए सत्ताबाट प्रचण्ड बाहिरिने निश्चित बनेको बताइन्छ।
संसदमा सवाल–जवाफ
प्रतिनिधिसभा बैठकमा समेत सरकार फेरिने विषयमा बहस चलेको छ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभामा बोल्दै एमाले–कांग्रेसका शीर्ष नेताहरु भट्दैमा सत्ता समिकरण फेरिन्छ भन्नु गलत हुने दाबी गरेका छन् ।
माओवादी केन्द्रका सांसदले यस्तो दाबी गरेपनि कांग्रेसले ठूला दलका नेताहरुको भेटवार्ताले सकारात्मक सन्देश दिएको भन्दै खुशी साटेको देखिन्छ ।
सोमबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा नै स्वास्थ्य मन्त्री प्रदीप यादवले समेत सत्ता परिवर्तनको संकेत गरेका छन् ।
स्वार्थको गठजोड बन्ने खतरा
कांग्रेस–एमालेको मिल्ने बिन्दु संविधान संशोधन वा मुलुकको विकास समृद्धिभन्दा पनि नक्कली भुटानी शरणार्थी प्रकरण, धितो बोर्डको अध्यक्ष नियुक्ति प्रकरण र बजेटको विषय रहेको बताइन्छ ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका वेचन झाको कनेक्सन आरजु राणासम्म पुग्ने र एमालेका केहि नेताहरुसँग समेत उनको राम्रो उठबस हुने भएकाले वेचन झा पक्राउ प्रकरणले कांग्रेस–एमाले मिल्ने बाटो खुला हुने सम्भावना बलियो बनिरहेको छ भने धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमा समेत माओवादी केन्द्रले तीन उम्मेदवारलाई अन्तरवार्तामै अनुपस्थित गराएर एमालेको रोजाइका पात्रलाई अध्यक्ष नबनाइएको झोक ओलीमा देखिन्छ ।
