News 24 Television
माधव नेपाललाई क-कसको चुनौती, नेतृत्व हत्याउने दाउमा घनश्याम 

काठमाडौँ । दुई वर्षअघि नेकपा एमालेबाट विभाजित भई माधव कुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पहिलो पटक महाधिवेशनमा होमिएको छ । समाजवादी मोर्चा हुँदै नेकपा माओवादी केन्द्रसँग एकताको नजिक पुगेको नेकपा एसमा पार्टीको राजनीतिक कार्यदिशामा समेत एक मत हुन सकेको छैन । जनताको बहुदलीय जनवाद (जबज)लाई अंगिकार गर्ने कि नगर्ने भन्ने दुविधामा रहेको पार्टीको नेतृत्वमा को आउँदैछ त ? 

नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी रहेको छ । नेकपा एमालेसँग विभाजित गएको आम निर्वाचनअघि गठन भएको यो पार्टीको सर्वसम्मत नेतृत्व लिने दाउमा स्वयम् माधव कुमार नेपाल नै छन् । पार्टी विभाजनका बेला एमालेमै रहेका घनश्याम भुसाल २०७९ को आम निर्वाचनमा टिकट नपाएपछि कांग्रेस–माओवादी सहित चार दलीय चुनावी गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका थिए । 

गठबन्धनको साथ पाएर पनि पराजित भएका भुसाल त्यसपछि एकीकृत समाजवादी प्रवेश गरी पार्टीको महासचिव बन्न पुगेका थिए । यिनै भुसाल जारी महाधिवेशनबाट नेतृत्व हत्याउने दाउमा छन् । समाजवादी कार्यक्रमलाई स्थापित गर्दै अघि बढ्ने बताएको बताएको नेकपा एसमा जबजलाई स्वीकार गर्ने कुरामा पनि नेताहरुबीच एक मत देखिदैन । अध्यक्ष माधव नेपाल भने एमालेबाट छुट्टिएपछि पनि जबजको वकालत गरिरहेका छन् । 

नेता नेपालले बहुदलीय प्रतिष्पर्धाका मान्यताहरुलाई छोड्न नसकिने भन्दै जबजको त्याग्नै नसकिने बताइरहँदा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल भने जबजको औचित्य नसकिएको बताइरहेका छन् । योसँगसँगै यी दुवै नेता बाम एकतामा पनि जोड दिइरहेका छन् । भुसालले जतिसक्दो छिटो बाम एकतामा जानुको विकल्प नरहेको समेत बताइरहेका छन् । 

भत्किएको विकतको एकतालाई जोड्न सक्ने नेतृत्व चयन गर्ने भन्दै भुसाल त्यसैको लबिङमा छन् । भुसालको विचारमा सम्मानित नेता खनालसमेत सहमत छन् । पार्टी भित्रको ठूलो पंक्ति पनि विगतको भत्किएको कडी जोड्न चाहिरहेका छन् । समाजवादी मोर्चा हुँदै पार्टी एकतामा जाने तयारीमा रहेकोले एकतामा जाने निर्णय गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन सत्रमै शुभकामना दिएका थिए । 

पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको जबजको औचित्य नसकिएको भन्दै नेता राजेन्द्र राई महाधिवेशनमा लिखित सुझाव पेश गरेपछि यसबारेको बहस चर्के हुने देखिएको छ । पार्टी नेतृत्वको दाबी गरिरहेका सम्मानित नेता खनाल भने महाधिवेशनको बन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्ष छन् । २१ सदस्यीय जम्बो पदाधिकारी रहेको समाजवादीले नेतृत्वको भागबण्डा मिलाउनकै लागि बरिष्ठ नेताको समेत नयाँ पद सिर्जना भइसकेको छ । पार्टी नेतृत्वमा मात्र नभई महासचिवसहित पदाधिकारीका लागि आकांक्षीको पंक्ति ठूलो देखिएकाले सर्वसम्मत चयनको सम्भावना न्यून रहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update