काठमाडौँ । एमाले नेतृत्वमाथि अनेक टिप्पणी गर्दै प्रश्न गरिरहेको प्रतिपक्षी कांग्रेस सत्ता पक्ष बन्ने कसरतमा जुटेको छ । एमालेलाई गिरीबन्धु टि–स्टेट प्रकरणमा जोडेर तथानाम गरिरहेको कांग्रेसले सत्ता सहकार्यसँगै गिरीबन्धु प्रकरणमा प्रश्न गर्ला ? यो विषयमा जवाफको पर्खाई बढेको छ ।
झापाको गिरीबन्धु टि–स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराउदै संसदबाट कानून नै पारित गरे । त्यसपछि गिरीबन्धुको जग्गामा भूमाफियाले चलखेल गर्ने शंकासहित सर्वोच्चमा परेको मुद्दाको फैसलाले सरकारी सम्पत्ति हुने गरि फैसला गरेपछि तरङ्ग पैदा गरिदियो । कानून बनाएर जग्गा सट्टाभर्ना गर्न दिने निर्णयको नियमित बचाउ गर्दै केपी ओलीले दिने भाषणमा कांग्रेसमाथि गम्भीर प्रहार हुन्थ्यो । ओलीले कांग्रेसले नै गिरीबन्धुको जग्गा बेचेर खाएको आरोप लगाइरहेका थिए ।
ओलीले यस्तो आरोप लगाएपछि कांग्रेसले यसको कडा प्रतिवाद गर्न थाल्यो । अझं कांग्रेस सभापति शेरबहादुर देउवाले नै गिरीबन्धु प्रकरणमा ओलीलाई कडा शब्दमा जवाफ फर्काए ।
देउवाले ओलीमाथि यस्तो प्रश्न गरेपनि कांग्रेस–एमालेबीच घोचपेच चलि नै रह्यो । कांग्रेस नेताहरुले गिरीबन्धु जग्गा प्रकरणमा छानविनको माग गर्नेदेखि एमाले नेतृत्वमाथि प्रश्न गरिरहे ।
कांग्रेस नेताहरुले गिरीबन्धु जग्गा प्रकरणमा प्रश्न गर्दै जुहारी नै खेल्न थालेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि कांग्रेसलाई कडा शब्दमा प्रहार गरेको देखिन्छ ।
एमालेले माफी माग्नुपर्ने भन्दै चेतावनी नै दिएपछि कांग्रेसले प्रतिउत्तर दिदै के को माफी माग्नुपर्ने भन्दै कांग्रेसले उल्टै प्रश्न गरेको थियो ।
यसरी कांग्रेस–एमालेबीच गिरीबन्धु प्रकरणमा लामो समय चलेको चर्काचर्की र सुशासनको नारा अब सत्ता सहकार्यसँगै कस्तो मोडमा पुग्ला रु जनताले पर्खिने अवस्था बनेको छ । तर, संविधान संशोधनदेखि भ्रष्टाचार अन्त्य, सुशासन लगायतका विषयमा सम्झौता भएको दाबी गरिएको एमाले–कांग्रेस गठबन्धनले के गिरीबन्धु टि–स्टेट प्रकरणलाई छानविनको दायरामा ल्याउने आँट गर्ला रु सम्भावना अत्यन्तै कम छ ।
उसो त यो गठबनधनलाई गिरीबन्धु जग्गा प्रकरणदेखि नक्कली शरणार्थीमा समेत सर्वसाधारणदेखि धेरैले प्रश्न गरिरहेका छन् । ठूला दलहरु मिलेर सरकार चलाउने विषयमा ठूला विमति नदेखिएपनि गठबन्धनको मुख्य उद्देश्यमाथि नै गम्भीर शंका गर्न थालिएका कारण यस्ता प्रश्नले अब कांग्रेसमा युवा नेताको छवि बनाएका र एमालेमा पनि प्रश्न गर्नेहरुमाथि प्रतिप्रश्न आउने पक्का छ ।
