News 24 Television
अल्पमतमा परेका प्रचण्ड किन छाड्न चाहेका छैनन् प्रधानमन्त्री ?

काठमाडौं । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा छ । समर्थन फिर्ता लिँदै एमालेले मार्ग प्रशस्त गर्न आग्रह गरे पनि प्रचण्डले संसदको सामना गर्ने बताएपछि नयाँ सरकार गठन प्रक्रिया लम्बिने भएको छ । आफ्नो पक्षमा विश्वासको मत प्राप्त नहुने स्पष्ट हुँदाहुँदै प्रचण्डले किन संसद फेस गर्न चाहेका छन् त ? 

तेस्रो पटक २०७९ पुस १० गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदा संसदमा उपस्थित २ सय ७० सांसद मध्ये २ सय ६८ सांसदले समर्थन जनाएका थिए । 

त्यतिबेला एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई प्रतिपक्षी दल भएर पनि कांग्रेसले विश्वासको मत दिएको थियो । कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थापेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ढोक्सामा माछा नपर्ने अभिब्यक्ति त्यही दिन दिएका थिए । तर त्यही वर्ष फागुनको दोस्रो सातामा नै राष्ट्रपतिको निर्वाचनको समयसम्म आउँदा कांग्रेसको ढोक्सामा प्रचण्ड परे । 

राष्ट्रिय सहमतिका लागि भन्दै एमालेलाई लत्याउँदै कांग्रेसको बुइ चढेका प्रचण्डले चैतमा दोस्रो पटक विश्वासको मत लिँदा १ सय ७२ सांसदले मात्रै विश्वासको मत दिए । फेरि कांग्रेसलाई छाडेर एमाले गठनबन्धनमा नै फर्किएका प्रचण्डले २०८० फागुनमा तेस्रो पटक विश्वासको मत लिँदा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीको साथ पाएर १ सय ५७ मत पाए । 

जनता समाजवादी पार्टी नेपाल विभाजित भइ सरकारको समर्थन फिर्ता लिएपछि पुनः प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिएका थिए । अहिले पुनः प्रमुख सत्ता सहयात्री दल नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता समझदारी गरी प्रचण्डलाई समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । 

एक महिना सरकारमा बसेर के गर्दैछन् प्रचण्ड ? 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको ७९ सिट रहेको छ भने कांग्रेसको ८८ सिट छ । पाँचौ पटक विश्वासको मत नपाउने निश्चित भए पनि प्रधानमन्त्री प्रचण्ड भने संसदको सामना गर्ने भन्दै प्रधानमन्त्री पद छाड्न तयार भएका छैनन् । 

संसदको सामना गर्दा अरु एक महिना सरकारमै रहन पाइने र त्यसबीचमा विभिन्न चलखेल गर्न सकिने प्रचण्डको विश्वास छ । त्यसैले विहीबार राजीनामा दिन बालुवाटार पुगिसकेको रास्वपाका मन्त्रीहरुलाई आश्वस्त पार्दै फिर्ता गराउन सफल भएका छन् ।  

रास्वपाको साथ पाएर पनि प्रचण्ण्डले विश्वासको मत जुटाउन सक्ने होइनन् तर एमाले मन्त्रीहरु फिर्ता भइसकेको अवस्थामा उनले आफूखुशी विभिन्न निर्णयहरु गर्न सक्नेछन् । नयाँ सत्ता समीकरण भइसकाले मार्ग प्रशस्त गर्न दुई ठूला दल कांग्रेस र एमालेले आग्रह गर्दा पनि प्रधानमन्त्री प्रचण्डले अटेर गरेपछि एमाले पनि झस्किएको छ । 

त्यसैले विहीबार मात्रै एमालेले विज्ञप्ति नै जारी गरेर दीर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न सचेत गराएको छ । यता, रास्वपालाई सरकारबाट फिर्ता हुनबाट रोक्न प्रचण्ड सफल भएका छन् भने नेकपा एकीकृत समाजवादीले पनि प्रचण्डलाई साथ दिने बताएको छ । नेपाली उखान ‘रात रहे अग्राख पलाउँछ’ भनेपछि भू राजनीतिक चेपुवामा पर्दै आएको नेपालको राजनीतिमा अबको एक महिनामा जुनसुकै खेल नहोला भन्न पनि सकिदैन । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update