News 24 Television
प्रचण्डको ‘मास्टर प्लान’मा रविको साथ, कांग्रेससँग भिड्न माओवादीको भर !

काठमाडौं । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका थिए ।

कांग्रेससहितको गठबन्धन बनाएर निर्वाचनमा होमिएको माओवादी तेस्रो दलमा खुम्चिए पनि घुमिफिरी सत्ताकै नेतृत्वमा छ भने माओवादीजस्तै नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता भन्दा टाढा हुन सकेको छैन । पहिलो र दोस्रो ठूलो दलबीच सत्ता समीकरणको सहमति भएपछि भने तेस्रो र चौथो यी दुवै दल प्रतिपक्षको कित्तामा पुग्दैछन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको संघर्ष चितवनबाटै अघि बढेको हो । चुनाव लड्नकालागि  ७९ को निर्वाचनमा काठमाडौंबाट बेड विस्तरासमेत सारेर प्रचण्ड चितवन पुगेका थिए । 

चितवनबाटै निर्वाचन लड्न पुगेका रास्वपा सभापति रवि लामिछानेको उभार देखेपछि प्रचण्ड गोर्खातर्फ हानिए । 

सबैभन्दा बढी मतान्तरले निर्वाचित भएका रविलाई प्रचण्ड नेतृत्वकै सरकारमा गृहमन्त्री बनाइएपनि नागरिकता विवादले गर्दा मन्त्रीको पदमात्रै गुमेन, पार्टी सभापतिसमेत गुमेको थियो । उपनिर्वाचनमा पनि लामिछाने उस्तै गरी भारी मतले निर्वाचित भए । राष्ट्रपति निर्वाचनकाबेला एक्कासी एमालेको साथ छाडेर कांग्रेसको बुइ चढेका प्रचण्डलाई रास्वपाले दोस्रो पटक पनि विश्वासको मत दिएको थियो । 

१५ महिनामै तेस्रो पटक गठबन्धन बदल्दै प्रचण्ड एमाले कित्तामै आए । एमालेको जोडबलकै कारण रविकै नेतृत्वमा रास्वपा पुनः प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । तेस्रो दल भए पनि जादुवी नम्बरका कारण आफू सत्तामा रहिरहने अभिब्यक्ति दिएको केही दिन नबित्दै प्रचण्डलाई एमालेले साथ छाडिदियो । 

अब भने प्रचण्ड प्रतिपक्षको किनारामा पुग्ने निश्चित जस्तै छ । तर रास्वपा भने ओल्लो घाट न पल्टो घाट भएको छ । त्यसैले एमालेले सरकारको समर्थन फिर्ता गर्दै मन्त्रीसमेत फिर्ता भइसक्दा रास्वपा अन्योलमा छ । 

दोस्रो पटक सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस लगायतका दलहरुले निरन्तर खेदिरहँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले साथ दिएका गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने यतिबेला भने एमालेको साथ पाउने अवस्थामा छैनन् । राजीनामा पत्र बोकेर विहीबार बालुवाटार छिरिसकेका लामिछानेसहित चारै जना मन्त्रीहरु राजीनामा नबुझाइ फिर्ता हुनुले फेरि अर्को शंसय पैदा गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update