काठमाडौँ । नेकपा एमालेबाट दुई वर्षअघि विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने माधव कुमार नेपालको योजना सफल भएको छ । नयाँ पार्टी बनेको धेरै समयपछि मात्रै पार्टी प्रवेश गरेर महासचिव बनेका घनश्याम भुसालले नेतृत्वको दाबी गर्दै नेपाललाई सर्वसम्मत हुनबाट रोक्ने तयारीमा थिए । एमालेको दशौं महाधिवेशनमा पनि असफल भएका भुसाल समाजवादीमा पनि नेतृत्व हत्याउन असफल भएका छन् ।
नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले पार्टीमा नेता प्रधान भन्दा पनि नीति प्रधान हुने वकालत गर्दै आएका थिए । महाधिवेशन शुरु हुनअघि सम्म पनि जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नसकिने भनी माधव नेपालले बताइरहँदा खनालले जबजको औचित्य सकिएको बहस चलाइरहेका थिए । त्यसैले जसको नीति उसकै नेतृत्व भन्ने कुरामा जोड दिएका खनाल पार्टी नेतृत्वको पनि दाबी गर्दै आएका थिए । महाधिवेशन शुरु हुनु भन्दा २ दिनअघि सम्म पनि पार्टी नेतृत्वमा आफ्नो दाबी कायमै रहेको खनाल बताइरहेका थिए । तर खनालले महाधिवेशनको प्रतिनिधिको माहोल बुझेर एक्कासी नेतृत्वको रेस छाडिदिए पनि भुसाल नेतृत्व हत्याउने दाउमा रहे । महाधिवेशन प्रतिनिधिहरुले पार्टी विभाजनको मर्म अनुसार नै सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिइरहे ।
महाधिवेशन प्रतिनिधिको दबाबकै कारण निर्वाचन प्रक्रिया नै अघि बढन् नसकेपछि पार्टी अध्यक्ष र महासचिवको दोहो¥याउने सहमति जुटेको छ ।
अहिले नेतृत्व चयनका लागि शीर्ष नेताहरुका बीचमा विभिन्न चरणमा छलफल भइ अध्यक्ष र महासचिव पदको मोटामोटी टुंगो लागे पनि अन्य पदाधिकारीको टुंगो लगाउन भने निकै सकस छ । पार्टीलाई एकतावद्ध गर्दै सर्वसम्मत नयाँ समिति चयन गर्नुपर्ने बताए पनि आकांक्षीहरु धेरै हुँदा विहीबार सक्ने भनिएको महाधिवेशन एक दिन लम्बिएको छ ।
