News 24 Television
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् । 

पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले तत्कालीन नेकपा (एमाले)सँग आफूहरूले विद्रोह गर्नु जायज रहेको विभिन्न समयका घटनाक्रमले समेत पुष्टि गरेको बताए।

विद्रोह नगरेको भए मुलुकमा कम्युनिष्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने अवस्था रहेको उहाँको कथन छ । 

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारलाई अन्तिम समयसम्म पनि समर्थन कायमै रहने बताए । 

राष्ट्रिय राजनीतिमा देखापरेका समस्या समाधान गर्न आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए ।

सम्मानित नेता झलनाथ खनालले विगतमा दुई तिहाइ बहुमत नजिक रहेको कम्युनिष्ट सरकार केही नेताको आत्मा केन्द्रित स्वार्थले तहसनहस भएको घटनाबाट शिक्षा लिएर वामपन्थी एकताका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update