काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सरकारको नेतृत्व गर्दा र विश्वासको मत लिँदा फरक राजनीतिक गठबन्धन झेलेका मुख्यमन्त्री सिंहले लिएको विश्वासको मतले केन्द्र सरकारमा समेत रोचक दृश्य देखिने सम्भावना बढेको छ ।
सरकार गठनका बेला बनेको गठबन्धन र सत्ता सहयात्री दलका मन्त्रीलाई बर्खास्त गर्दै मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
विश्वासको मतअघि मुख्यमन्त्री सिंहले मन्त्रीलाई राजीनामा दिन गरेको आग्रह पालना नभएपछि बर्खास्ती गर्नुपरेको भन्दै कडा अभिव्यक्ति दिए । उनले मायाको चिनो दिन मन भए पनि बर्खास्ती गर्नु परेको भन्दै दिएको अभिव्यक्ति भने विश्वासको मतमा कांग्रेस–एमालेको समर्थनलाई लिएर नै दिएको देखिन्छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले संघीयतापछिका सरकारको नेतृत्व एकलौटी गर्ने मौका पाए पनि पछिल्लो समय उनको वर्चस्व मधेसमा गुम्न पुग्यो । अहिले मधेस प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तत्कालीन एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई सरकारबाट विस्थापन गर्यो । उपेन्द्रले मधेसबाट पहिलो पटक सत्ता नेतृत्व मात्रै गुमाएनन्, उनको पार्टी पनि विभाजन भयो । यो घाउले पोलिरहेकै बेला मधेस प्रदेश सरकारको नेतृत्व लिने गरी कांग्रेस–एमाले गठबन्धनलाई निसर्त समर्थन गर्ने दाबी गरेका उपेन्द्रलाई फेरि नयाँ गठबन्धनले झड्का लगाइदिएको छ ।
मधेस सरकारमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गर्दै मुख्यमन्त्री सिंहले कडा कदम चाले । एमाले–कांग्रेसले पनि विश्वासको मत दिने भएपछि मधेसको राजनीतिमा राम्रै प्रभाव जमाउन सकिने जनमतको विश्वास छ । अहिलेसम्म नयाँ गठबन्धनमा जाने नजाने भन्ने निर्णय गर्न नसकेको जनमत बालुवाटार बैठकमा समेत उत्तिकै पेचिलो पेश भइरहेको अवस्था छ । तर, अब जनमत नयाँ गठबन्धनमा मिसिने भएको छ । मधेस सरकारलाई दिएको विश्वासको मतले पनि जनमत नयाँ गठबन्धनको सहयात्री बन्नेछ ।
मधेस सरकारलाई मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका हुन् ।
उपेन्द्रलाई फेरि फसाद
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जनमत पार्टीको कट्टर विरोधी शक्ति हो । उनीहरु खास मिलेको देखिन्न । केन्द्रमा नयाँ गठबन्धन बनेपछि तत्काल समर्थन गर्ने दाबी गरेका उपेन्द्र पार्टी विभाजनको आलो घाउको पीडामा पनि छन् । नयाँ गठबन्धनले राम्रो व्यवहार गर्ने ठानेका उपेन्द्रलाई नयाँ गठबन्धनले पनि खास महत्व भने दिएन् ।
मधेस सरकारको नेतृत्व मधेसी दललाई नै गर्न दिने गरि कांग्रेस एमालेले मोटो सहमति गरेपछि हौसिएका उपेन्द्र अहिले जिल्लिएका छन् । जनमत पार्टीले नयाँ गठबन्धनको समर्थन लिएपछि उपेन्द्र फसादमा परेका हुन् । उपेन्द्रबाटै फुटेको जनता समाजवादीले पनि कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय औपचारिक रुपमै गरिसकेको छ ।
आफैबाट छुट्टिएकोले समर्थन गर्ने र मधेसमा आफ्नै कट्टर विरोधिले शासन गर्ने भएपछि विपक्षमा बसेको उपेन्द्रको पार्टीलाई अब कसरी अघि बढ्ने भन्नेमा अन्योलता सिर्जना भएको छ । मधेसदेखि केन्द्रसम्मै धक्का खादै आएका उपेन्द्र अब सत्ता पक्ष बन्छन् की प्रतिपक्षी त्यो हेर्न बाँकी छ ।
