काठमाडौँ । माधव नेपाललाई सर्वसम्मतिले अध्यक्ष चयन गर्दै महाधिवेशनलाई सम्पन्न गरेको नेकपा एकीकृत समाजवादीले पार्टी फुटको औचित्य पुष्टी भएको दाबी गरेको छ । पार्टी फुट र एमाले अध्यक्ष केपी ओलीमाथि भडास पोखेको नेकपा एसले मुलुकको वामपन्थी आन्दोलनलाई पतनतर्फ लैजाने पात्रको रुपमा समेत ओलीलाई अघि सारेको छ ।
नेकपा एमालेसँग विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पार्टी गठनको तीन वर्षमा महाधिवेशन गरे । महाधिवेशनमा विभिन्न पदमा निर्वाचन हुने गरि देखिएको छनकलाई सर्वसम्मतिमा लगेर टुंगो लगाइएको छ । अध्यक्ष, सम्मानित नेता र महासचिवमा पुरानै अनुहार दोहोर्याएको नेकपा एसले पार्टी विभाजनको औचित्य पुष्टी भएको दाबी समेत गरेको छ । नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टी विभाजनको औचित्यमाथि प्रश्न गर्नेमाथि प्रतिवाद गर्न निर्देशन नै दिएका छन् ।
एमालेसँगको विद्रोह सहि थियो भन्ने सामाथ्र्य निर्माणमै कठिन परिस्थितिको सामना गरिरहेको नेकपा एसले मुलुकको वामपन्थी आन्दोलनको बारेमा समेत विभिन्न कोणबाट समीक्षा गरेको छ । नेपालमा वामपन्थी जनमत ठूलो भएपनि जगेर्णा गर्न नसकिएको तथ्य समेत स्वीकार गरेको छ । तर, यस्तो किन भयो भन्ने प्रश्नमा प्रमुख कारण एमाले अध्यक्ष केपी ओलीलाई देखाइएको छ । ओलीको भष्मासुर प्रवृत्तिका कारण वामपन्थी जनमत जोगाउन नसकिएको नेकपा एसको दाबी छ ।
महाधिवेशन सकिएपनि कमिटी र पदाधिकारीले पूर्णता पाउन नसकेको विषयलाई पूर्णता छिट्टै दिने नेकपा एसको दाबी छ भने एमालेसँगको विद्रोहमा अन्य नेताहरुको बुझाई पनि समान देखिन्छ ।
नेकपा एसको महाधिवेशन सम्पन्न भएपनि पदाधिकारी र केन्द्रीय समितिले भने पूर्णता पाउन सकेको छैन् । नेकपा एसले नयाँ गठबन्धनलाई समर्थन नगर्ने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय समेत गरेको बताइएको छ ।
