News 24 Television
प्रधानमन्त्रीलाई राजीनामा दिन एमाले–काँग्रेसका सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
        
    यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यसै सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन् ।
        
बैठकको शून्य समयमा  बोल्दै     नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले  नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।        
    
    एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ  सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे ।
        
एमालेकै सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरे । 

    सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले पनि अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए । उनीहरुले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने बताए । 
        
    सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट गरे ।
           
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update