काठमाडौँ । नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिसकेपछि एमाले नेता र सांसदहरुमा छटपटी बढेको छ । उनीहरुले विश्वासको मत नलिई तत्काल राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरे । आइतबार पनि उनीहरुले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए । एमाले सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार नरहेको बताइरहेका छन् ।
बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनल भनिन्, ‘बाढी पहिरो र डुबानबाट बिस्थापित भएका तथा जोखिममा रहेका पीडित र प्रभावितहरुका लागि आवश्यक संरक्षण, राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्छ । तर आज सरकार कहाँ छ ? के छ भन्ने कुरामा हामी सबै प्रश्न र मौन भएर बस्ने स्थिति बनेको छ । सरकारलाई काम गर्न सक्ने बनाउनका लागि अब नयाँ सरकारलाई जिम्मेवारी दिनका लागि हामी तयार हुनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरु भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताए । उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरे । मैनालीले भने, ‘तमाम समस्याहरुका बाबजुद आज सरकार कानमा तेल हालेर बसेको छ । म प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव पेश गर्छु । गृहमन्त्रीलाई तत्काल सदनमा आएर यि सबै घटनाहरुको बारेमा जानकारी दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिन चाहन्छु ।’
सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए । उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको भन्दै बलियो सरकारले मात्रै बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्न सक्ने जिकिर गरे ।
सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनःस्थापनाको काम सरकारले अगाडी बढाउन नसकेकोले राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरे ।
