काठमाडौँ । राजनीति एकैनास अघि बढ्न सक्दैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन् । यस्ता उक्ति धेरै प्रयोग गरिन्छ । राजनीति गर्नेहरुले नै यी विषयमा बहस गर्ने गर्छन् । तर, यस्तो राजनीतिले मुलुकलाई विकास समृद्धिको बाटोमा हिडाउनुको साटो सत्ता स्वार्थको केन्द्रमा पु¥याउने देखिन्छ । आपसी मेल–बेमेल हुने स्थिति तत्काल बन्ने अवस्था पनि विद्यमान बनिरहन्छ । नेपालका यस अवस्थाको परिदृष्य र प्रभाव कस्तो छ त ?
गएको चुनावमा आकस्मिक रुपमा ठूलो शक्ति प्राप्त गरेको पार्टी हो, राष्ट्रिय स्वतन्त्र पार्टी । रवि लामिछानेको सभापतित्वमा गठन भएको रास्वपा अनेक उतारचढावसँग जुधिरहेको छ । संकट र पार्टीमा विभिन्न आरोह–अवरोह फेस गरिरहेको रास्वपा पार्टी जीवनमा तङ्ग्रिन नसक्दै ठूलो पार्टीको चेपुवामा पर्न थालेकको छ, भने साना दलहरुले पनि रास्वपालाई तारो बनाउन थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर रास्वपा र रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गरिरहेको छ । रविका पूर्वव्यवसायीक साझेदार गितेन्द्रबाबु राई ’जीबी’को खोजीमा रविलाई जोड्नेक्रम रोकिएको छैन् ।
रास्वपामाथि प्रश्न गर्नेमा राप्रपा मात्रै नभएर अन्य दल र नेताहरु पनि छन् । तर, सत्ता सहकार्यका लागि जतिबेला पनि एमाले अध्यक्ष केपी ओलीले तम्तयार राख्दै आएका रविमाथि एमाले संसदमा आक्रामक पेश हुन थालेको छ । एमालेले रास्वपाका मन्त्रीलाई गोजीमै राजीनामा छ भन्ने अनि अहिले के हेरेर बसेको भन्दै प्रश्न गरिरहेका छन् । एमालेका सांसद अच्युतप्रसाद मैनालीले रविको राजीनामा मागेका छन् ।
बाढी पहिरोका कारण मानिसले ज्यान गुमाएको भन्दै राजीनामा माग्ने एमाले सांसदले के यो राजीनामा सत्ता सहकार्य भएकै बेला माग्न सक्थे ? पक्कैपनि सक्दैनथिए । संसदमा कांग्रेस एमालेले सामूहिक रुपमा राजीनामा माग्नेक्रम तीब्र बनेका बेला एमाले प्रमुख सचेतक महेश बर्ताैलाले गोजीमा राखेको राजीनामा अहिलेसम्म किन नदिएको भन्दै प्रश्न गरिरहेका छन् ।
एमालेले प्रश्न गर्न थालेपछि रास्वपाले पनि प्रतिनिधिसभा बैठकमै प्रश्न गर्न थालेको छ । रास्वपाका सांसदहरुले वेचन झा पक्राउ परेपछि सत्ता समिकण फेरिएको र भ्रष्टाचारका फाइल खोल्ने विषयले आत्तिएको आरोप लगाउन थालेका छन् ।
एमाले–रास्वपा भिडन्त
एमाले र रास्वपाबीच पहिलो पटक नजिकबाट टिकाटिप्पणी चल्न थालेको छ । एमाले अध्यक्ष केपी ओलीले हाहाहुहु गरेको भरमा मन्त्री बनेकोदेखि अन्य सांसद मन्त्रीमाथि छुद्र टिप्पणी गरेपनि रविको पक्षमा कडा प्रतिवाद गर्ने गरेका थिए । रविविरुद्ध कांग्रेसले संसदीय छानविन समितिको माग गर्दा एमाले रक्षा कवचजस्तो बन्ने गरेको थियो । कांग्रेसमाथि अनेक आरोप लगाउदै एमालेले रास्वपाभन्दा बढि प्रहार गर्ने गर्थ्यो । तर, संसदीय समिति बन्ने अवस्थामा सहज रुपले ढोका खेल्न भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्डलाई समेत अनेक प्रश्न गर्ने एमाले प्रतिपक्ष बनेसँगै रास्वपाविरुद्ध पनि कडा प्रतिवादमा उत्रिन थालेको छ ।
समितिको तरवार
सहकारी ठगीबारे छानविन गर्नका लागि बनेको समितिको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । एमाले अध्यक्ष केपी ओलीका निकटपात्र सुर्य थापाले नेतृत्व गरिरहेको सहकारीबारेको छानविन समितिले काम गरिरहेको छ भने रवि संलग्न रहेको गोरखा मिडियामा आएको रकमबारे समेत विभिन्न सूचना बाहिर सार्वजनिक गर्ने काम गर्न थालेको छ । सत्ता सहयात्रामा आउनै पर्ने गरि वा विपक्षमा गए अनुसन्धान कसिलो पार्ने गरि एमालेले रणनीति अख्तियार गरेपछि रास्वपामाथि समितिको तरवार झुण्ड्याउने काम हुने शंका बढ्न थालेको छ ।
सहकारी पीडितको नाममा गर्ने गरिएको राजनीतिले पीडितमैत्री कामभन्दा राजनीतिमैत्री हुने र त्यसले सत्ता सहकार्य लगायतका विषयमा तरवार राखिने खतरा उत्तिकै छ । यसरी रास्वपा र एमाले कहिले मित्र त कहिले शत्रु बनिरहदा यसको प्रभाव समग्र मुलुकको सत्ता र राजनीतिक गतिविधिमा परिरहेको छ । अस्थिरतामा केहिहदसम्म मलजल गर्ने गरिरहेको छ यो परिस्थितिले । यसले मुलुकको विकासमा अवरोधको भूमिका देखिन्छ नै ।
