काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीको महत्वपूर्ण जिम्मेवारीबाट निष्काशन गरेको छ । मंगलबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले मुकुललाई पार्टीको प्रवक्ता, महामन्त्री तथा केन्द्रीय सदस्य पदबाट निष्काशन गरेको हो । उनलाई पार्टीले अनुशासनको कारबाही गरेको बताइएको छ । पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरी ढकाललाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको थियो । तर केन्द्रीय समितिमा साधारण सदस्य भने राख्नुपर्ने मत बलियो बनेपछि उनलाई पार्टीको साधारण सदस्य कायमै राखेको छ ।
केन्द्रीय समितिको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको आचारसंहिताका विभिन्न दफा उल्लंघन गरेकाले ढकाललाई कारबाही गरिएको बताए । ढकालको उक्त कार्यबाट पार्टीलाई पुगेको क्षति विश्लेषण गर्दै केन्द्रिय अनुशासन आयोगले हदैसम्मको कारबाही गर्नुपर्ने भनी सुझाव दिएको र सोही अनुसार पार्टीको विधानको धारा ५६ (३) बमोजिम साधारण सदस्य कायम राखी महामन्त्री, प्रवक्ता र केन्द्रिय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको झाले बताए । केन्द्रिय समितिको यो निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय समेत गरिएको छ ।
महत्वपूर्ण जिम्मेवारी खोसिएपछि ढकालले आफू ‘रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको’ बताएका छन् । उनले आफू रास्वपामै बसेर संघर्ष गर्ने संकेत देखाएका छन् । पार्टी निर्णयपछि सामाजिक सञ्जालमा लेख्नै ढकालले भनेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ।’ रविको पार्टीबाट माथि उठाएर रास्वपालाई राष्ट्रिय पार्टी बनाउने संकल्प नरोकिने भन्दै उनले आफ्नो धारणा बुधबार सार्वजनिक गर्ने बताएका छन् ।
ढकालले केही महिनाको देशयात्रामा निस्केर रास्वपा पार्टी संकटमा रहेको समीक्षा प्रतिवेदन लेखेका थिए । तर उनले उक्त प्रतिवेदन पार्टीमा छलफल हुनुअघि नै मिडियामा छर्लंग पारिदिए । गत बुधबार मात्र रास्वपा केन्द्रीय समितिको बैठकमा ढकालको प्रतिवेदनमाथि छलफल भएको थियो । त्यसक्रममा बैठक लाइभ गर्नुपर्छ भन्ने प्रस्ताव मुकुलले राखे पनि पार्टीले अस्वीकृत ग¥यो । तर त्यसको विरोधमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा बसे । यसलाई उनले सांकेतिक विरोध भनेका छन् । तर उनका यी कुनै पनि हर्कत रास्वपाका अन्य पदाधिकारीले रुचाएनन् । बैठकमा ढकालको चर्को आलोचना भयो । उनलाई कारबाही गर्नुपर्ने केन्द्रीय सदस्यहरुको मत बलियो बन्यो । त्यही बैठकले ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको थियो र मंगलबार निष्काशन नै गरेको हो ।
रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेका विश्वासपात्र मानिएका मुकुल एकाएक रविको विरुद्धमै खरो उत्रिन थालेपछि उनीप्रति पार्टीभित्र र बाहिर सर्वत्र चासो बढ्यो । पार्टीले उनीमाथि देशयात्रा निष्केर तयार पारेको समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले नै मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेको, अनुशासनहीन तथा अमर्यादित हर्कत देखाएको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएकोलगायत आरोप लगाएको छ । ३५ दिनभित्र उनले पुनरावलोकनका लागि निवेदन दिनसक्ने सुविधा भएकाले पार्टीले तत्कालै नयाँ महामन्त्री नियुक्त नगर्ने र ३५ दिन कुर्ने निर्णय समेत गरेको छ ।
आफूविरुद्ध लागेका आरोपबारे मुकुलले खण्डन गर्दै आएका छन् । पार्टीले आफूलाई बचपन देखाएको आरोप लगाए पनि पार्टीकै मन्त्री र सांसदमा अपरिपक्वता कायम रहेको उनको भनाइ छ । एमालेको समर्थन फिर्तापछि सरकार अल्पमतमा परेसँगै रास्वपा मन्त्रीहरुले पनि बिहीबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउने भनेर बालुवाटार गएका थिए तर राजीनामा नबुझाई उनीहरु फर्किए । यसैलाई उदाहरण दिँदै रास्वपाभित्र अपरिपक्वता र बचपन हाबी भएको ढकालले एक अन्तर्वार्तामा बताएका छन् । उनले आफूलाई पार्टीले स्पष्टीकरणको मौका समेत नदिई कारबाही गरेको आरोप समेत लगाएका छन् ।
ढकालले अहिलेकै अवस्थामा रास्वपा अघि बढ्ने हो भने एक समयको चर्चित पार्टी विवेकशील पार्टीजस्तै हालतमा पुग्ने र २०८४ को निर्वाचनमा राष्ट्रिय पार्टी बन्न समेत मुश्किल हुने बताउँदै आएका छन् । आफूले जनताको सुझाव र प्रतिक्रियाका आधारमा उक्त ठोकुवा गरेको बताउँदै उनले २०८४ को निर्वाचनपछि पार्टीले आफ्नो महत्व बुझ्ने समेत बताएका छन् ।
