काठमाडौं । असार १७ गते राति काँग्रेससँग भएको सहमति अनुसार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्तिको परखाइमा छन् । उता वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने २८ गते विश्वासको मत लिने तयारीमा छन् ।
यदी यो दिन विश्वासको मत नपाए काँग्रेस र एमाले मिलेर सरकार संचालन गर्ने समझदारी कार्यान्वयनको बाटो खुल्नेछ । दुई दलले गत सोमबार रातारा संविधान संशोधन र सत्ता सहकार्यसहित ७ बुँदे पत्रमा हस्ताक्षर गरेको बताइन्छ । यद्यपि उक्त पत्र अहिलेसम्म सार्वजनि गरिएको छैन ।
आजको दिनसम्म काँग्रेस–एमालेले सरकार बनाउने सझदारी कायमै छ । यो कसरत जारी रहँदा दुई दलले साना दलहरुलाई पनि मनाएर शक्तिशाली सरकार बनाउने देखि अन्य शक्ति बाँडफाँडको विषयमा पनि समझदारी गरिरहेका छन् ।
आ–आफ्नो पार्टीको आन्तरिक बैठकले समेत पारित गरिसकेको समझदारीलाई अझ कसिलो बनाउने ध्याउन्नमा छन् देउवा र ओली । देउवा पनि प्रचण्ड सरकार ढलेपछि ओली नेतृत्वको सरकार बन्नेमा लगभग ढुक्कमा छन् । काँग्रेस सांसदहरु नै प्रधानमन्त्रीबाट प्रचण्डलाई हटाएको संकेत गर्दै संसदम संगितको लयबाटै खिसिट्युरी गर्न थालिसकेका छन् ।
काँग्रेसले प्रचण्डमाथि यस्तो खिसिट्युरी गर्नु गत असार १९ गते एमाले मन्त्रीहरुले राजीनमा दिँदाको पल सँग जोडिन्छ । उक्त दिन राजीनामा दिन गएका मन्त्रीहरुलाई काँग्रेसलाई छोडेर एमाले अध्यक्ष ओलीलाई विश्वास गर्दा धोका पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले ‘कसैलाई माया गर्नु, एउटा भुल गरेँ मैले’ भन्ने गीतको अंश सुनाएका थिए ।
यही पललाई जोडेर काँग्रेसले संसदमै प्रचण्डलाई यस्तो खिसिट्युरी गरेको बुझ्न कठिन छैन। निर्वाचन लगत्तै सरकारको नेतृत्व गरेका प्रचण्डले आफ्नो कार्यकालको १८ महिने अवधिमा पटक पटक विश्वासको मत लिनु पर्यो । र, गठबन्धन पनि पटक पटक फेरिए । उता एमालेले भने काँग्रेससँगको सत्ता सहकार्य लगभग निश्चित भएपछि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्र र घरी घरी समीकरण खेलमा लागेकोले सरकार छाड्नु परेको दावी गरिरहेको छ ।
समझदारीपछि नेकपा एमाले र काँग्रेसले प्रचण्डलाई सरकार छाड्न पटक पटक आग्रह पनि गरिसकेको छ । यो अवस्थामा प्रचण्डले बाहिरबाट कसैले भन्दैमा राजीनमा नदिइ कानूनी तवरले नै विश्वसको मतको सामना गर्ने निर्णय गरिसकेका छन् ।
उनले यही असार २८ मा विश्वासको मत लिने तयारी गरिरहेका छन् । यो अवधिमा समझभारी भत्किन सक्ने भन्दै एमाले अध्यक्ष ओली भने त्रासमा छन् । आइतबार संसदीय दलको बैठक बोलाएका ओलीले देउवाप्रति नै शंका पनि व्यक्त गरे । उता विश्वासको मत लिने तयारी गरिरहेका प्रचण्ड संविधान संसोधन गर्न पनि सझदारी गरिएको विषयप्रति असन्तुष्ट छन् ।
प्रचण्ड काँग्रेसलाईसमेत आफ्नो कित्तामा ल्याउने प्रयत्नमा छन् । यही गतिविधिलाई लिएर ओलीले आफू प्रधानमन्त्री हुनेमा शंका राखेका हुन् । आइतबारको एमाले संसदीय दलको बैठकले काँग्रेससँग भएको सझदारीको स्वागत गरेको छ ।
बैठकमै ओलीले देउवाको इमानप्रति कुनै शंका नरहेको भन्दै काँग्रेसलाई फकाउने प्रयास गरे । उता नेकपा माओवादी केन्द्र भने एमालेलाई सत्ता सुम्पन तयार छैन । बरु काँग्रेसलाई नै आफ्नो कित्तामा तान्ने, यो नभए देउवालाई नै प्रधानमन्त्री बनाउने दाउमा माओवादी छ ।
यद्यपि माओवादीको यो योजनामा साकार हुने संभावना कमै देखिन्छ । उता प्रधानमन्त्रीले विश्वासको मत लिने समय एक साता पनि बाँकी नरहँदा ओली प्रधानमन्त्री बन्ने संभावना बढी नै छ । तरपनि यसमा अझै ग्यारेन्टी भने छैन ।
प्रचण्डले आइतबार मात्रै काँग्रेस संस्थापन इतर पक्षका नेता शेखर कोइरालासँग भेटवार्ता गरे। कोशी प्रदेशमा विद्रोह गरेर आफ्नो पक्षलाई मुख्यमन्त्री बनाएको कोइराला खेमाले प्रधानमन्त्रीले विश्वासको मत लिँदा के गर्छ ? भन्ने विषय पनि सामान्य चर्चामा छ । यदी यो पक्षले विद्रोह नै नगरेपनि ओली प्रधानमन्त्री बन्ने मामलामा संवैधानिक अवरोध आउनसक्ेन पनि केही पक्षको दावी छ । किनकी हाल पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ उपधारा २ अनुसार प्रधानमन्त्री छन् । र, यदी प्रचण्डले विश्वासको मत नपाएको अवस्थामा उपधारा ३ आकर्षित हुने केही कानूनविदहरुको विश्लेषण छ ।
यो अवस्थामा संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न सक्छन् । तर हाल काँग्रेस र एमालेले ओलीलाई ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनाउने कसरत गरिरहेका छन् । अब प्रचण्डले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपतिले कुन धारा अनुसार कस्लाई प्रधानमन्त्री बनाउछन् भन्ने विषय अन्योलतामै गाँजिएको छ ।
