काठमाडौँ । सत्ता समिकरणमा नेकपा एमालेले कोल्टे फेरेपछि प्रधानमन्त्री प्रचण्ड असार २८ गते विश्वासको मतबाटै बहिर्गमनमा जाने निश्चित छ । सत्ताबाट हात धुनुपरेपछि प्रचण्डले फेरि शक्ति अभ्यासका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउनेतर्फ ध्यान लगाउन थालेका छन् । समाजवादी र वामपन्थि मोर्चाबाट प्रचण्ड शक्ति अभ्यास गर्ने बाटोमा किन उद्देलित हुँदैछन त ?
प्रधानमन्त्री बनेपछि प्रचण्डले पार्टी निर्माणमा खास ध्यान दिन नसकेको गुनासो माओवादी केन्द्रभित्रै व्यापक छ । पार्टी निर्माणमा ठोस पहल थाल्नुको साटो गठबन्धन र शक्ति अभ्यासमा जुटेपछि प्रचण्डमाथि पार्टीभित्रै परेको दबाबलाई उनले समाजवादी मोर्चातर्फ ढल्काए । समाजवादी मोर्चाले केहि अभ्यास गर्न खोजेपनि त्यो निर्णायक बन्न नसकिरहेको बेला उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन गराइदिएपछि मोर्चा त्यसै ओइलाए जस्तै भयो ।
उपेन्द्र यादवले त प्रचण्डलाई समाजवादी मोर्चा पोलेर खाइदिएको आरोप नै लगाए । एमालेसँगको सत्ता समिकरणमा निर्धक्क देखिएका प्रचण्डले वामपन्थी सहकार्यको लोभमा मोर्चालाई खासै महत्व दिएनन् । अझ प्रचण्डले समाजवादी मोर्चाभन्दा सत्ता र शक्तिको अभ्याससँगै एमाले र अध्यक्ष केपी ओलीसँगै राजनीतिक यात्राको सपना देख्न थाले । तर, प्रचण्डलाई चक्मा दिदै ओलीले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति नै गरेपछि उनी अन्ततः सत्ताबाट बाहिरिने स्थितिमा पुगे । ओलीले धोका दिएको विश्लेषण अहिले प्रचण्डबाट सर्वाधिक निस्कने अभिव्यक्ति बन्न पुगेको छ ।
माओवादीले यस्तो तनाव व्यहोर्नुपरेपछि फेरि प्रचण्डले अर्को सक्रियता देखाउन थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चालाई सक्रिय पार्नका लागि उनले नेकपा एकीकृत समाजवादी पार्टीदेखि विप्लव लगायतलाई बोलाएर छलफल गरेका छन भने उपेन्द्र यादव र अशोक राई भने सहभगी भएका छैनन् ।
पार्टी विभाजनको दुखमा रहेका उपेन्द्रले के गर्छन् भन्न सकिने स्थिति छैन । तर, प्रचण्डले बोलाएका यी सबै साना दल सरकारमा जान खुट्टा उचालेर बसेका छन् । यद्यपी, कांग्रेस–एमालेको सहकार्यमा पेलिने डर पनि उत्तिकै भएकाले उनीहरुले माओवादीसँगको दूरी पनि बढाइहालेका छैनन् । यस्तो अवस्थामा प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय पार्दै फेरि शक्ति अभ्यास गर्ने र अन्तराष्ट्रिय समूदायसँग समेत नयाँ सन्देश दिने तयारी गरेको दाबी छ ।
अब प्रचण्ड के गर्लान् ?
माओवादी केन्द्रसँग पार्टी एकीकरण नै गर्ने गरि तयारी गरेका महिन्द्र राय यादवको समूह र पार्टी एकताका लागि तम्तयार भएका नेत्रविक्रम चन्द ’विप्लव’लाई प्रचण्ड आफैले होल्ड गरेको अवस्था थियो । एमालेसँग वामपन्थी सहकार्यको रहर पालेका प्रचण्डलाई ओलीले धोका दिएपछि प्रचण्डले अब एकताको लाइनमा बसेकाहरुसँग समेत तीब्र र सघन वार्ता गर्नेछन् । महिन्द्र राय यादव तयार भएपनि विप्लव भने हच्किने सम्भावना पनि छ । विप्लवले प्रचण्डलाई भन्दा उपाध्यक्ष कृष्णबहादुर महरालाई विश्वास गर्ने भएकाले पनि महराले सक्रियता नदेखाएसम्म एकताको कुराले निकास पाउने सम्भावना कम छ ।
अर्थपूर्ण राजनीतिको संकेत
सत्ताबाट बहिर्गमनमा पर्ने निश्चित बनेपछि सक्रिय बन्न खोजेका प्रचण्डले अब कृष्णबहादुर महरालाई समेत सक्रिय बनाउने सम्भावना छ । प्रहरीले महरालाई सुन प्रकरणमा मुद्दा नचलाउने निर्णय गरिसकेको छ । महराविरुद्ध मुद्दा नचल्ने भएपछि महरालाई सक्रिय बनाउन सकिने विश्लेषण प्रचण्डको रहेको बताइन्छ । तर, छोरा राहुल महरा पूर्पक्षका लागि थुनामै रहेकाले पनि महरा तत्काल सक्रिय होलान् त ? शंका भने छ । यद्यपी विप्लव लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउनकै लागि भएपनि अब प्रचण्डले आफ्नो क्षमताले भ्यासम्मका सैे चाल चल्नेमा भने शंका भने छैन ।
