News 24 Television
‘काँग्रेस-एमालेलाई कसैले मिलाइदियो, अब निरंकुशताको डर’ 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको र कसैले मिलाइदिएको बताएका छन् । 

प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ शुरु गरेको जिकिर समेत गरे । आफूले विधिको शासन शुरु गरेको जिकिर गर्दै उनले काँग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए ।

‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो,’ उनले भने, ‘प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेँ, लोकतन्त्रको गोडमेल शुरू गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन शुरू गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । काँग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो । नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा शुरू गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’

प्रधानमन्त्री प्रचण्डले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको समेत बताए ।  संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गर्दै उनले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने बताए । तर नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने नभई रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको समेत उनले बताए । नियत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update