News 24 Television
जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न भट्टराईले दिए चेतावनी

काठमाडाैँ । नेकपाएमालेका सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन् । उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताउनु भयो । उहाँले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे । उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? भनी प्रश्न गरे । उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ छन् ? भनेर पनि प्रश्न गरे । उनले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतलाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए ।

‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराखेको छ । हामीले संविधानमाथि पुनरावलोकन गर्ने, समिक्षा गर्ने भनेका छौँ,' उनले भने, 'म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु, र यो संसदमार्फत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई हामी आश्वस्त गर्न चाहान्छौँ, संविधानको पुनरावलोकन अर्थात् संविधान संशोधन ०७२ सालको संविधानको अग्रमगनको लागि हो । पश्चगमनको लागि होइन । पछाडी फर्किनको लागि होइन । जाति, भाषा, धर्म, संस्कृति, मधेश, दलित, महिला आज झलझलि प्रधानमन्त्रीजीलाई याद भयो । तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईका लागि हतियार बोकेका तमाम दलित युवाहरु आज कहाँ छन् ? खोज्नुभयो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु यो संसदमा कमै सिट होला तर प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित प्रतिनिधि सभा सदस्य कोही छ भने त्यो एमालेको छ । सिट कम होला तर प्रत्यक्ष जितेर आउने महिला प्रतिनिधि सभा सदस्य एमालेको बढी छ । कम छ त्यसलाई बढाउनुपर्छ थाहा छ । म भन्न चाहान्छु दलितको नाममा, महिलाको नाममा, मधेशको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन । त्यो सफल हुने छैन । यो देश जाति जातिको सहअस्तित्वबाट राष्ट्र बनेको हो यो कुरा ख्याल गर्नुहोला ।' 

सांसद भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता र सहयोग चाहिने भन्दै यस बारेमा छलफल गर्ने बताए । उनले संविधान संशोधनभन्दा बाहिर गएर दाहालले विद्रोह गर्नु सम्भव नभएको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update