News 24 Television
संसदमा दलहरुबीच चल्यो घोचपेच, प्रचण्डको आरोपमा एमालेको प्रतिरक्षा

काठमाडौं । अल्पमतमा परेको प्रष्ट भएपनि विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता बनेका प्रचण्डले संसदमा विश्वासको मत लिनेक्रममा मत नपाउने थाहा भएपनि प्रतिरोधस्वरुप संसदमा उभिएको दाबी गरे । 

ठूला दलहरु मिलेर सरकार गठन गर्ने विषयमा अनेक प्रश्न गरेका प्रचण्डमाथि कांग्रेस एमालेले जवाफ फर्काएका छन् । तर, संसदमा सत्ताको लुछाचुडी तीब्र बनेको आभास भने प्रष्ट देखिएको छ । 

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले–कांग्रेसप्रति आक्रोश पोखे । 

कांग्रेसभन्दा एमालेमाथि खनिएका प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले दिएको धोका र उनको चिन्तनप्रति समेत प्रश्न गरे । ओलीले संसद विघटन गरेको विषयदेखि विभिन्न विषय उठाएका उनले ओलीले नराम्ररी धोका दिएको दाबी गरे । 

प्रधानमन्त्रीले यतिमात्रै बोलेनन्, प्रचण्डले पुस १० मा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तो हालत अहिले आफूलाई भएको भन्दै कांग्रेसको साथ छाड्दाको पीडाबोध भने गरे । 

प्रधानमन्त्री प्रचण्डले संसदमा एमाले अध्यक्ष केपी ओलीमाथि क्रोध मात्रै पोखेनन्, आफू नराम्ररी झुक्किएको र ठगीएको भन्दै क्रोध समेत पोखे । विभिन्न विषयमा प्रवेश गरेका प्रचण्डले कांग्रेस–एमालेलाई डरले नै जोडेको दाबी समेत गरे । 

यसरी रोष पोखेपछि एमाले–कांग्रेसले पनि संसदमा प्रतिवाद गरेका छन् । कांग्रेसले प्रचण्डलाई अहिलेसम्म प्रधानमन्त्रीमा स्वीकार गरेर गल्ति पो गरिएछ की भन्दै व्यंग्य समेत कस्यो । संसदमा बलियो प्रतिपक्षी हुदैन कि भन्ने चिन्ता पनि प्रचण्डले प्रधानमन्त्रीको रुपमा बोल्दै गर्दा शसक्त प्रतिपक्षको छनक दिएको भन्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कटाक्ष गरे ।  

ओलीमाथि आक्रोश पोखेका प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिदै एमाले सांसद योगेश भट्टराइले नर्क नजाने तर स्वर्ग जाँदा संगै लैजाने भन्दै ओलीले भनेको कुरा बुझ्न नसकेको आरोप लगाए । 

सत्ता फेरिने भएपछि विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डमाथि प्राय दलले आक्रोश पोखेका छन् । प्रचण्डलाई समर्थन गर्ने दल नेकपा एकीकृत समाजबादीले समेत अप्ठ्यारोमा पर्ने बेला मात्रै सम्झिने गरेपनि आफ्नो दलले नबिर्सिने भन्दै व्यंग्य ग¥यो ।  

सत्ता उलटफेरमा भनाभन र घोचपेच चल्नेक्रममा रास्वपाले पनि संसदमा आक्रोश पोखेको छ । कांग्रेस–एमालेले ठूला नेताको घरमा अनुसन्धानको सुई तेर्सिन खोजेपछि समिकरण फेरिएको आरोप रास्वपाको छ । 

सरकार गठनको नयाँ प्रक्रियामा समेत अनेक प्रश्नहरु संसदमा उठे । तर, सरकार गठन र सत्ता फेरबदलकै वरिपरी घुमेको संसद बैठकमा घोचपेच र विवादले संसद सत्ताको लुछाचुडी गर्ने थलोजस्तो बन्न पुग्यो । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update