News 24 Television
प्रदेश सरबारबाट पनि बढारिँदै छ माओवादी 

काठमाडौँ । केन्द्र सरकारमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारहरुमा सत्ता परिवर्तनको दौड तीब्र छ । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा रहेको बाहेकका प्रदेशमा दुई दलले सरकार मुख्यमन्त्रीलाई सरकार छाड्न दबाब दिइरहेका छन् । बाग्मती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिएको माओवादी दुवै प्रदेशबाट बाहिरिने भएका छन् भने सुदूरपश्चिमबाट नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारी पनि अल्पमतमा परिसकेका छन् । 

सत्ता समीकरण बदलिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाइसकेपछि माओवादी नेतृत्वको प्रदेश सरकारहरु पनि बढारिने क्रममा पुगेको छ । 

केन्द्रको सत्ता समीकरणमा पटक पटक आएको फेरबदलको कारण अस्थिर बनेका प्रदेश सरकारहरु पनि फेरि अस्थिरताको यात्रामा छ । यस पटक कांग्रेस र एमाले नेतृत्वमा रहेका बाहेकका प्रदेश सरकारहरु अल्पमतमा परिसकेका छन् । मधेस प्रदेशमा भने जनमत पार्टीबाट निर्वाचित मुख्यमन्त्री सतिश कुमार सिंहलाई कांग्रेस र एमालेले समर्थन जनाएका छन् । कांग्रेस र एमालेको समर्थनका कारण मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत पाएका थिए । 

लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । महरा ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेको २९ सिट रहेको छ भने कांग्रेसको २७ सिट छ । माओवादी केन्द्रको जम्मा ११ सिट मात्र छ । दलीय समीकरण अनुसार मुख्यमन्त्री महराले विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले विश्वासको मत लिने कि राजीनामा दिएर मार्गप्रशस्त गर्ने भन्नेमा उनी अन्योलमा छन् । 

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सरकारमा अल्पमतमा परे पनि विश्वासको मत लिने तयारीमा छन् । आफूले विश्वासको मत नपाउने भए पनि प्रधानमन्त्री प्रचण्डले जस्तै उनी विश्वासको मत लिने तयारीमा रहेका हुन् । कांग्रेस–एमालेको सरकार गठनका सहज बनाउन भन्दै उद्देश्यले जम्मकट्टेलले आइतबार विश्वासको मत लिने समय माग गर्ने भएका छन् । 

एमाले–माओवादीको अघिल्लो समीकरणमै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी संकटमा थिए । सत्ता समीकरणको गणितका कारण एमालेले समर्थन जनाए पनि सरकारमा सहभागी भएको थिएन । अहिले केन्द्रमा समीकरण बदलिएसँगै एमालेले समर्थन फिर्ता लिएपछि सोडारी पनि अल्पमतमा छन् । कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले समेत राजीनामा दिएर मार्गप्रशस्त गर्न सोडारीलाई दबाब दिएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा असार १ मा पेश भएको बजेटमाथि छलफल समेत हुन सकेको छैन ।  

कोशीमा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री छन् भने कर्णाली प्रदेशमा पनि एमालेकै यामलाल कँडेल मुख्यमन्त्री छन् । गण्डकी प्रदेशमा भने नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । कांग्रेस र एमाले नेतृत्वको प्रदेश सरकार भने यथावत रहने भएको छ । यद्यपी मन्त्रिपरिषद् भने फेरबदल हुने देखिन्छ । मधेस प्रदेशमा भने एमाले र कांग्रेसको बहुमत नपुग्ने भएकाले जनमत पार्टीले नेतृत्व पाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update