News 24 Television
ओलीविरुद्ध चक्रव्यूह रच्दै प्रचण्ड, खुमलटारबाटै चलाए देश  

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब निवर्तमान प्रधानमन्त्री बन्दै छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्ड सत्ताबाट औपचारिक रुपमै बाहिरिदै छन् । अहिले कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डका पछिल्ला २ दिन कस्ता रहे त  ? 

असार २८ गते प्रतिनिधिसभामा राखेको विश्वासको मत बहुमतले अस्वीकृत भएपछि पदमुक्त बनेका प्रचण्डलाई राष्ट्रपति रामचन्द्र पौडेलले काम चलाउ सरकारको नेतृत्व दिए । काम चलाउ सरकारको रुपमा प्रचण्डले ३० गते एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त नभएसम्मका लागि काम गरे । तर, उनी विश्वासको मतमा असफल भएपछि उनी बालुवाटार भने पसेनन् । 

प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रचण्ड सिधै खुमलटार पुगे । खुमलटारमा निराशा बोकेर पुगेका प्रचण्डलाई समर्थकले फुल, माला लगाउदै स्वागत गरे । प्रचण्ड त्यो माहोल देखेपछि केहि हर्षित बन्न पुगे । त्यसपछि खुमलटारमै दिन विताइरहेका प्रचण्ड पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा भने आएनन् । पेरिसडाँडामा विशेष पत्रकार सम्मेलन गर्ने तयारी अन्तिममा स्थगित गरियो । त्यसपछिका दिन प्रचण्डले खुमलटारमै भेटघाट तथा छलफलमै विताइरहेका छन् । 

सरकारको नेतृत्व अर्को प्रधानमन्त्रीलाई हस्तान्तण नगरुन्जेल नियमित कामकाज सम्पन्न गर्न प्रचण्डले सक्रियता देखाइरहेको उनको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका केपी ओलीको सपथ सम्पन्न नभएकाले काम चलाउ सरकारले नै नियमित काम गर्ने सचिवालयको दाबी छ । तर, औपचारिक रुपमै अर्को प्रधानमन्त्री नियुक्त भइसकेपछि सामान्यतया पदको खास अर्थ भने नहुने स्थिति रहन्छ । सिंहदरबारमा शुक्रबारदेखि नै जान छाडेका प्रधानमन्त्री प्रचण्डले आइतबार सुरक्षा निकायका प्रमुखलाई खुमलटारमै बोलाएर बाढि पहिरोको अपडेट लिनुका साथै जनताको सुरक्षामा खटिन निर्देशन दिए । राजनीतिक परिस्थिति फेरिएपनि जनताको सेवामा लाग्न छाड्न हुन्न भन्दै प्रचण्डले निर्देशन दिएको बताइन्छ । 

फेरियो भूमिका

प्रधानमन्त्रीको रुपमा बालुवाटारमा व्यस्त रहने प्रचण्ड अब प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा आइपुगेका छन् । प्रमुख प्रतिपक्ष बनेपछि पार्टी कामदेखि अन्य काममा समेत सहजै जान सकिने माओवादी केन्द्रका नेताहरुले दाबी गरिरहेका छन् । प्रधानमन्त्रीको रुपमा प्रचण्डले थालेका कामको प्रचार र सत्ताले गर्न सक्ने षडयन्त्रलाई चिर्न खरो पेश हुने योजना बनाएर अघि बढ्ने माओवादी केन्द्रले तयारी गरेको छ । सत्ताबाट प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले वामपन्थी एकता, सहकार्य र अन्य मोर्चालाई सक्रिय बनाउदै अघि बढ्ने तयारी गरेको दाबी गरिरहेको छ । 

ओली प्रधानमन्त्रीमा नियु्क्त

एमाले अध्यक्ष केपी ओली संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्  । प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार हुँदै छ । सोमबार ११ बजे प्रधानमन्त्री ओलीको सपथ हुने संसद सचिवालयले जानकारी गराएको छ । सांसदहरुलाई पठाएको पत्रमा सोमबार ११ बजे सपथ हुने बताइएको छ । राष्ट्रपति कार्यालयमा १०ः३० मै उपस्थित हुन सांसदहरुलाई पत्रमा भनिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update