काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
साेही समाराेहमा नवनियुक्त १९ जना मन्त्रीहरूले पनि पद तथा गाेपनियताकाे शपथ लिएका छन् । नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएसँगै मन्त्रीहरूले पनि शपथ लिएका हुन् । ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।
