काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । त्यसपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरे । अनि मात्रै उनले सिंहदरबार पुगेर कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले उनलाई स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेसकाे समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।
