News 24 Television
केपीको प्रकोपमा साना दल, सत्ताको लोभले थचक्कै ! 

काठमाडौँ । कांग्रेस–एमालेको सत्ता गठबन्धनपछि हौसिएका साना दलहरु विचल्लीमा पर्ने खतरा बढेको छ । कांग्रेस एमालेको गठबन्धनपछि समर्थन गर्ने भन्दै हौसिएका दलहरु सरकारमा सहभागी नगराइएपछि अब कुन बाटो रोज्लान् भन्ने चासो समेत बढेको छ । 

कांग्रेस–एमालेले सत्ता सहकार्य गर्ने निर्णय गरेपछि औधि खुशी व्यक्त गरेका केहि साना दलहरु तनावमा पर्ने संकेत देखिएको छ । सरकार विस्तारसम्म आइपुग्दा केहि दलहरु विचल्लीमा त परेनन् ? बाहिर आशंका गर्न थालिएको छ । प्रधानमन्त्री केपी ओलीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाहेकका दललाई सरकारमा समावेश नगरेपछि अन्योलता बढेको हो । 

ओलीको रोजाईमा कुन–कुन दल परेनन् ?

१. उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल

उपेन्द्र यादवले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने बताएका थिए । निवर्तमान प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदा समेत विपक्षमा मतदान गरेको उपेन्द्रको पार्टी सरकारमा अटाउने आंकलन गरिएको थियो । ५ सांसद रहेको जसपाले ओली क्याबिनेटमा स्थान पाएन् । भने मधेसमा समेत सरकारको नेतृत्व गुमाएको अवस्था छ । यस्तोमा उपेन्द्रले ओलीले विश्वासको मत लिने बेलासम्म कस्तो निर्णय लिन्छन् भन्ने चासो बढेको  छ । मधेस सरकारमा समेत नेतृत्व गुमेको अवस्था र केन्द्रमा पनि सरकारमा सहभागीता नभएको बेला उपेन्द्र फेरि समाजवादी मोर्चा हुँदै पुरानो ठाउँमै फर्किन्छन् वा के गर्छन् भन्ने विषय चासोमा छ । 

२. डा. सीके राउत नेतृत्वको जनमत पार्टी

जनमत पार्टी पनि सरकारमा जाने विश्लेषण भइरहेको थियो । कांग्रेस–एमालेको समर्थनमा मधेस सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सरकार समस्यामा छ । मन्त्रालय बाँडफाँटमा मधेसमा समस्या देखिएको बेला जनमत पार्टीले पनि केन्द्रमा मन्त्री नपाएपछि सरकारमा भाग पाएन । यसरी सरकारमा सहभागीताको प्रश्नमा जनमत छुटेपछि अब जनमत के गर्ला भन्ने प्रश्न कायमै छ । 

३. रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी

रञ्जिता श्रेष्ठ पहिलेदेखि नै निवर्तमान प्रधानमन्त्री प्रचण्डको पक्षमा उभिइन् । तर, रेशमलाल चौधरी पक्षले प्रचण्ड सरकारको विपक्षमा उभिदै कांग्रेससँग सहकार्य गर्ने भनेपछि नाउपामा वितण्डा नै मच्चियो । देउवाको पक्षमा उभिने निर्णयले नाउपा फुटको संघारमा पुग्नेदेखि कारबाहीको श्रृङ्खला नै चल्यो । तर, अन्तिममा नाउपा पनि ओली सरकारमा अटाएन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई दबाब दिने र राजीनामा माग्नेको अग्रपंक्तिमा रहेको नाउपा पनि सरकारमा जानबाट छुटेपछि अब नाउपाले के गर्ला ? प्रश्न र चासो छ । 

सत्ताकै पछि कुद्ने प्रवृत्तिमाथि प्रहार

उपेन्द्र यादवको जसपा नेपालदेखि जनमत, नागरिक उन्मुक्ति पार्टी सत्ताकै पछि देखिन्छन् । गएको निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डको नेतृत्वमा सरकारमा गएका यी पार्टीहरु अहिले ओलीले नेतृत्व गर्दा पनि सरकारमा जान तयार थिए । 

तर, ओलीले पूर्वसहकर्मी अशोक राईको जसपा र कांग्रेससँग नजिक रहेर बसेको लोसपालाई सरकारमा ल्याए पनि अन्य दल छुट्न पुगेका छन् । उसो त ओलीले यी दललाई अन्यत्र स्थान दिने गरी योजना बनाएको बाहेक सत्ताकै पछि कुद्ने प्रवृत्तिमाथि प्रहार गरेको अर्थमा लिइएको छ । निवर्तमान प्रधानमन्त्री प्रचण्डले संसदमै साना दललाई ओली नेतृत्वमा हुने सरकारले न्याय गर्ला ? भन्दै प्रश्न पनि गरेका थिए । नभन्दै यस्तै स्थिति सिर्जना हुनुले साना दल थप झस्किएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update