काठमाडौँ । डा. आरजु राणा देउवा नेपाली राजनीतिमा एक चर्चित र विवादित नाम हो । काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी भएकाले उनको नाम शक्तिशाली महिलाका रुपमा बेलाबेला चर्चामा आइरहन्छ । यतिबेला भने उनी केपी ओली नेतृत्वको सरकारमा आफैले रोजेको परराष्ट्र मन्त्रालय सम्हाल्न आइपुगेकी छन् । सोमबार मन्त्री शपथलगत्तै सिंहदरबार पुगेर कार्यभार सम्हालेकी राणाले आफूले पाएको जिममेवारी इतिहासमै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्ने बताइन् । उनले दौत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने र विदेशमा रहेका नेपालीहरुका समस्या समाधानमा पनि चासोका साथ काम गर्ने बताइन् ।
तर, मन्त्री राणाको छवि भने स्वच्छ छैन । नक्कली भुटानी शरणार्थी काण्ड, टीकापुर जग्गाकाण्ड तथा निजी महँगा स्कुल खोलेर जनता लुट्ने धन्दासम्म उनी विवादमा आइरहने पात्र हुन् । आफ्ना श्रीमान देउवा पटकपटक प्रधानमन्त्री हुँदा पर्दापछाडिबाट ठूला चलखेल गर्ने गरेको आरोप समेत उनीमाथि लाग्दै आयो । पछिल्लो समय निवर्तमान गृहमन्त्री रवि लामिछानेले टीकापुर जग्गाकाण्ड र भुटानी शरणार्थी काण्डमा उनलाई पक्राउ गर्ने तयारी गरेको हल्ला समेत चल्यो । उनी पक्राउ पर्न सक्ने डरले नै रातारात एमाले अध्यक्ष ओलीको बाटकोट निवासमा गएर देउवा दम्पतीले सत्ताको चाबी ओलीको हातमा सुम्पने सहमति गरे । जसको प्रभावस्वरुप प्रचण्ड नेतृत्वको सरकार ढल्यो र गृहमन्त्री लामिछाने पनि निरीह रुपमा सत्ताबाट बाहिरिए ।
लामिछानेले गत जेठमा टीकापुर जग्गा घोटालाको फाइल खोल्ने संकेत गरेका थिए, जतिबेला काँग्रेसले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लाउँदै संसदीय छानबिनको माग राखेर संसद अवरुद्ध गर्दै आएको थियो । पछिल्लो समय असार १४ गते भुटानी शरणार्थी काण्डमा शक्तिशाली बिचौलिया मानिएका बेचन झा पक्राउ परेपछि असार १५ गते देउवा दम्पत्ति ओली निवासमा पुगेर लामो वार्ता गरेका थिए । झा ले बयानमा आरजु राणाको नाम पोल्ने सम्भावना देखिएको र गृहमन्त्रीले प्रमाणका आधारमा राणालाई पनि पक्राउको तयारी गरेको चर्चा चल्नु र सोही बेला रातारात काँग्रेस–एमाले मिलेर नयाँ सरकार गठनको सहमति गर्नुले यसभित्र ठूलै खेल रहेको आकलन गरियो । निवर्तमान प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले नै ठूला भ्रष्टाचारका फाइल खुल्न थालेपछि र बेचन झा पक्राउ परेपछि नै डराएर रातारात काँग्रेस–एमाले मिलेको बताएका थिए ।
कैलालीको टीकापुर बजार क्षेत्रमा रहेको करिब ३० बिघा जग्गा टीकापुर विकास समितिका पदाधिकारीहरूले विभिन्न समयमा मनपरी ढंगले बिक्री–वितरण गरेको पाइएपछि उक्त काण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो । जग्गा घोटाला प्रकरणमा अख्तियारले गत २०८० माघमा २४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरजू लगायत केही पहुँचवाला नेताहरूको नाम पनि उक्त काण्डमा मुछिएको भए तापनि उनीविरुद्ध मुद्दा चलाइएको छैन । आरजुको नाममा टीकापुर विकास समितिको जग्गा ३ कट्ठा ७ धुर रहेको देखिएको छ । तर राणाले २०५३ सालमा ५० हजार मोल तिरेर उक्त जग्गा किनेको बताउने गरेकी थिइन् । यद्यपि आरजुले जग्गा किनेको कागजात पुष्टि गर्ने आधारबारे थप अनुसन्धानको खाँचो देखिएको छ ।
पहिलोपटक सरकारमा गएकी आरजुले प्रभावशाली र संवेदनशील मानिने परराष्ट्र मन्त्रालयको कमाण्ड सम्हालेकी छन् । तर आफ्नो स्वार्थका लागि जे पनि गर्न तम्सिने र भ्रष्ट महिलाको रुपमा गलत छवि बनाएकी उनले परराष्ट्रजस्तो मन्त्रालय निर्विवाद चलाउन सक्लिन् भन्नेमा शंका छ । प्रत्यक्ष रुपमा उच्च पदमा नबसेर पनि विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएकी राणा शक्तिशाली मन्त्री नै बनेर आएपछि झन् विवादास्पद निर्णय हुनसक्ने आशंका बलियो बनेको छ । काँग्रेस सभापतिको साथले नै प्रधानमन्त्री बनेका ओलीलाई विवादित मन्त्री आफ्नो क्याबिनेटमा समेट्नुपर्ने रहर नभएर बाध्यता हो । किनभने देउवा ज्यादाजसो आरजुको सल्लाहमा चल्ने गरेको बताइन्छ, र यसपाली पनि ओलीसँग मिलेर प्रचण्ड–रविलाई ढाल्न उनैले देउवालाई बालकोट पुर्याएको बताइन्छ । ओलीलाई प्रधानमन्त्री बनाएर देउवाले पत्नीको मन्त्री बन्ने मनोकांक्षा पूरा गरिदिएका छन् भने उनी पक्राउ पर्ने सम्भावित भयबाट समेत मुक्त भएका छन् ।
