News 24 Television
सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।

मंगलबार भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कठिनाईमा परेका जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने बताए । 

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि बताए । उनले नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तिब्रताका साथ काम गर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update