काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित सरकारी निवासबाटै पार्टी र देश चलाउने गर्थे । सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हुँदाहुँदै पनि उनी कार्यालयमा एकदम बिरलै जाने गर्थे । क्याबिनेट बैठकदेखि पार्टीका महत्वपूर्ण बैठकहरु बालुवाटारस्थित सरकारी निवासमै गर्दथे । ओलीको यस कार्यको त्यतिबेला पनि धेरै आलोचना भएको थियो । पार्टी कार्यालयमा गर्नुपर्ने कैयौँ बैठक र कार्यक्रम समेत बालुवाटारमै गरेको देख्दा लाग्थ्यो– बालुवाटारको त्यो प्रधानमन्त्री निवास सरकारको नभएर एमाले पार्टीकै हो । यही बानी ओलीले दोहो¥याउन थालेका छन् । ओलीले प्रधानमन्त्री पदको शपथ खाएको भोलिपल्टै नेकपा एमालेको जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा विशुद्ध पार्टी कार्यक्रम प्रधानमन्त्री निवासमै गरिएको छ ।
सरकारसँग सम्बन्धित कार्यक्रम, अर्जेन्ट पर्दा प्रधानमन्त्रीको पार्टीका पदाधिकारी बैठकहरु सरकारी निवासमा गरिनुलाई अन्यथा मान्न सकिन्न । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल बरु यस कुरामा सचेत देखिन्थे । उनले अपर्जट बाहेक पार्टीका कार्यक्रम बालुवाटारमा गरेनन् र पार्टीका बैठकहरु समेत बिदाको समयमा या कार्यालय समयबाहेक पारेर पार्टी कार्यालयमै आयोजना गराउथे । तर, ओलीमा भने यो संवेदनशीलता देखिँदैन । सरकारी खर्चमा चल्ने प्रधानमन्त्री निवासमा पार्टीको जिल्ला कमिटी तहसम्मकै कार्यक्रम सञ्चालन गर्न थालियो भने त्यो पार्टीकै कब्जामा रहेको निवास ठहरिन्छ ।
मंगलबार यस्तै दृश्य देखियो बालुवाटारमा । पार्टी कमिटीको उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताए । भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने उनले बताए । सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि उनले बताए । नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको ओलीको दाबी छ ।
ओलीले प्रधानमन्त्री त पहिले नै भइसकेको बताउँदै यसपाली मन्त्रीपरिषदलाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका तथा सबै तह–तप्काका निम्ति क्रियाशील गराउने ओलीले बताए पनि ओली स्वयंलाई नै आफ्नो बोलीमा विश्वास हुँदैन । यसको उदाहरण उनले देश र जनतालाई भन्दा पार्टीलाई नै केन्द्रमा राखेको मंगलबारको घटनाले दर्शाइसकेको छ । अरुले गरेका राम्रा कामको पनि खोइरो खन्ने र आफूले नाजायज काम गर्दा पनि जायज ठह¥याउने नेपाली नेताहरुको साझा रोग नै हो । ओलीले तीन वर्षअघिको मेलम्चीको बाढी–विपत्ति सम्झिँदै त्यस्ता घटनाप्रति सरकार सजग रहेको बताए । गत वर्षको जाजरकोट भूकम्पबाट भएको क्षतिको सन्दर्भमा पनि हामीले छिट्टै नै आवास निर्माणका लागि किस्ता रकम दिने उनले बताएका छन् । अब पूरै मन्त्रिमण्डल द्रूत काम गर्नेमा लाग्ने ओलीको भनाइ छ, मानौँ अब चमत्कारै हुनेछ ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले घर–घरमा ग्यास पाइपलाइन, पानीजहास, हावाबाट बिजुली, चिनिया चुच्चे रेल काठमाडौँ ल्याउने लगायत महत्वाकाँक्षी योजना र सपना देखाउँदै गफैगफमा बिताएका थिए । नागरिकका दैनन्दिनका समस्या समाधानका उपाय भन्दा हावादारी सपना बाँड्नु र त्यसको कुनै पूर्वतयारी समेत थालनी गर्न नसक्नुले ओलीप्रति आम जनताको विश्वास उडेको थियो । साथै संसदमा सम्बोधन पनि एकदमै न्यून गर्ने, सरकार सञ्चालनमा एकलौटी गर्ने र ठूला भ्रष्टाचार काण्डहरुको संरक्षण गरेको लगायत आरोप ओलीमाथि लाग्ने गरेको थियो । ओलीले यसपाली ठूला कुरा भने गरेका छैनन् । उनी विगतका केही कुराबाट पाठ सिकेर सरकार चलाउन खोजेको जस्तो देखिन्छ । यद्यपि आमजनता र विश्लेषकहरुमा ओलीको बानी बदलिएला भन्ने विश्वास देखिन्न ।
राजनीतिक विश्लेषक लोकराज बरालले ओलीको चौथो कार्यकाल पनि सरकार बनाउने र भत्काउने ‘म्युजिकल चेयर’मा मात्रै सीमित हुने टिप्पणी गरेका छन् । नेकपा कालमा पनि ओली झण्डै दुईतिहाइ बहुमतका प्रधानमन्त्री थिए र अहिले पनि त्यही अवस्था दोहोरिएको छ । तर उनको चरित्र भने नफेरिएको बरालको भनाइ छ । सत्ता र कुर्सीका लागि जे पनि गर्न तम्सिने र २ पटक संसद विघटनको नकारात्मक छवि समेत बनाएका कारण पनि ओलीको लागेको बानी बदलिएला भन्न सकिने अवस्था छैन ।
