काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले परराष्ट्रमन्त्री बनेसँगै देखाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । मन्त्रीको पदभार ग्रहण गरेकै दिन उनले नेपाल–भारत सीमा समस्या समाधानको विषयमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि पनि उनको कूटनीतिक भेटघाट बाक्लो बनेको छ । यस अवस्थामा के उनले कूटनीतिलाई पारस्परिक हितमा राख्दै देउवाकै पत्नी भएका कारण अवसर पाइन् भन्ने भाष्यलाई चिर्न सफल होलिन् ? कस्ता छन् त संकेत ?
डा. आरजु राणा देउवा, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । कांग्रेसमा समानुपातिकतर्फबाट सांसद बनेकी आरजु मन्त्री बन्नु अघि संसदीय समितिको नेतृत्वमा थिइन् ।
महिला हक तथा सहभागितामा कडा शब्दमा आफ्ना कुरा राख्न सक्ने हक्की स्वभावकी आरजु अब परराष्ट्र मन्त्री बनेकी छन् । कांग्रेस सभापति समेत रहेका आफ्ना पति देउवालाई दबाब दिएरै उनी मन्त्री बनेको चर्चा व्यापक छ । देउवाले थेग्नै नसकेपछि आरजुले मौका पाइन भने आरजुलाई क्याबिनेटमा राख्दा आफ्नो पद सुरक्षामा खतरा पैदा हुन्न् भन्ने प्रधानमन्त्री केपी ओलीको मनोदशाले पनि राम्रो काम ग¥यो ।
त्यसपछि आरजु बनिन्, पहिलो लटमै परराष्ट्रमन्त्री । विभिन्न एनजीओमा काम गरेपछि विदेशी कूटनीतिज्ञदेखि अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध स्थापित गर्न सफल भएकी उनी हक्की मात्रै छैनिन्, आफुलाई लागेको कुरा बोलिहाल्छिन् । कहिले घरमा बन्दुक राखेको कुरा त कहिले कांग्रेसलाई जिताए विदेश पठाउने आश्वासन दिन पछि नपर्ने उनी परराष्ट्रमन्त्रीको रुपमा कार्यसम्पादनमा सफल बन्लिन् ? संसय र शंका छ ।
आरजुले गर्नैपर्ने काम
नेपाल–भारतबीचको सीमा विवाद लम्बेतान छ । भारतले लिपुलेक, लिम्पियाधुरा लगायतका भूमी मिचेको छ । नेपालले नक्सामा यी भूभागलाई समेटेपनि उपयोग भारतले गरिरहेको छ ।
अझं भारतले नेपाली भूमी मिचेको र नेपालले फिर्ता ल्याएरै छाड्ने भन्दै भारतविरुद्ध चर्को बोल्ने केपी ओलीको क्याबिनेटमा रहेकी आरजुलाई यो विषयमा समाधान खोज्नु प्रमुख चुनौति हो । मन्त्रीको कार्यभार सम्हाल्दै आरजुले सीमा समाधान गर्ने उपायको बारेमा समेत सार्वजनिक अभिव्यक्ति दिइसकेकी छन् ।
सीमा समाधान गर्न सकिने दाबी गरेकी आरजुलाई यतिमात्रै नभएर चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई र नेपाल–भारतको विज्ञ समूहले बनाएको इपीजी प्रतिवेदनलाइ टुंगोमा लैजानुपर्ने चुनौति पनि उत्तिकै पेचिलो छ ।
रुस–युक्रेन युद्धमा नेपालको तर्फबाट रुसी सेनामा भर्ति भएकालाई नेपाल फिर्ता र युक्रेनको कब्जामा रहेकालाई नेपाल फिर्ताको पहलदेखि हमासको अपहरणमा परेका विपिन जोशीको रिहाई पनि उत्तिकै पेचिला र चुनौतिपूर्ण विषय छन् । यस्तोमा परराष्ट्रको जिम्मेवारीमा आएकी आरजुले आफूलाई कसरी अघि बढाउछिन् भन्ने विषयले उनको कार्यक्षमता थप प्रष्ट हुनेछ ।
आफैलाई प्रमाणित गर्ने अवसर
कांग्रेस सभापति शेरबहादुर देउवाकै पत्नी भएका कारण अवसरको चाङमा बसेको आरोप आरजुमाथि लाग्ने गरेको छ । समानुपातिक कोटाबाट सांसद बन्दा समेत उनीमाथि अनेक टिप्पणी र आलोचना नभएका होइनन्, तर उनले यसको प्रतिवाद जति गरेपनि मेटाउन सकिने विषय बन्नै सकेको छैन् । तर, अब समस्या र विवादले घेरिएको मन्त्रालयको जिम्मेवारीलाई गहनतापूर्वक पुरा गर्ने र परराष्ट्र सम्बन्धलाई नयाँ उचाई दिने काम गर्न सकेमात्रै पनि आरजुले आफूलाई सहजै प्रमाणित गर्नेछिन् ।
नक्कली शरणार्थि प्रकरणमा बेचन झादेखि टीकापुर जग्गा प्रकरणमा अनेक आरोप खेपिरहेकी आरजुले आफूलाई प्रमाणित गर्न सक्लिन् त ? गञ्जागोल अवस्थाका बीचमा उनको सफलताका आधार कमजोर देखिए पनि असम्भव भने छैनन् । जसका लागि उनको परीक्षा सुरु भइसकेको छ ।
