News 24 Television
ठगिएका बाबुराम : प्रचण्डविरुद्ध निरन्तर प्रहार 

काठमाडौँ । नेकपा माओवादी केन्द्रसँगको एकता भाँडिएपछि नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई निरन्तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिँदै आएका छन् । अघिल्लो आम निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएर निर्वाचनमा सामेल भएको नेसपाले अपेक्षित लाभ लिन सकेन । बाबुरामले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रबाट जिताउन सघाए भने आफू उम्मेदवार बनेनन् । तर छोरीलाई काठमाडौँबाट उम्मेदवार बनाएर काँग्रेस–माओवादी सहितको पाँचदलीय गठबन्धनबाट उठाए पनि हारिन् । यसलाई गठबन्धन र प्रचण्डबाट धोका पाएको ठहर गरेका डा. भट्टराईले नेसपालाई माओवादीसँगै एकता गराउन चाहेका थिए । 

तर पछिल्लो समय प्रचण्डसँग कुरा मिल्न नसकेपछि भाँडियो । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई प्रचण्डले समाजवादी मोर्चामा समेत सामेल गरेरनन् । पछिल्लो समय एमालेसँग गठबन्धन गरेर करिब ४ महिना सत्ता लम्ब्याएका निवर्तमान प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई बेवास्ता गरेका थिए । तर यही असार १७ गते एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई धोका दिएर काँग्रेससँग सत्ता समझदारी गरेपछि प्रचण्ड अब सडकमा पुगेका छन् र समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउन थालेका छन् ।

मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा मोर्चाको बैठक बसेर आगामी योजना र रणनीति तय गर्न ४ सदस्यीय कार्यदल बनाएको छ । बैठकले विगतका अनुभवहरुलाई समीक्षा गरेर नयाँ कार्यक्रम र योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो । समग्र समीक्षालाई दस्ताबेजीकरण गरेर आगामी योजना र कार्यक्रम १५ दिनभित्र तय गर्नेगरी नेपाल कम्युनिष्ट पार्टीका नेता खड्ग विश्वकर्मा, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, प्रमेश हमाल र देव गुरुङ सम्मिलित कार्यदल गठन गरिएको छ । बैठकपछि निर्णय सुनाउँदै खड्ग विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिमा हालै भएका घटना, समाजवादी मोर्चाको विगतका काम कारबाही र समग्र देशको स्थितिको बारेमा समीक्षा भएको बताए । उनले नयाँ राजनीतिक घटनाक्रमले प्रगतिशिल यात्रातिर अघि बढिराखेको देशलाई यथास्थिति र पश्चगमन एवं विगतको आन्दोलन र उपलब्धिलाई चुनौती दिने दिशातिर उद्यत रहेको निष्कर्ष निकालेको उनको भनाइ छ । 

बैठकले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेत समाजवादी  मोर्चामा आबद्ध गराउने निर्णय गरेको छ । साथै जनता समाजवादी पार्टी र मोहन विक्रम सिंहको पार्टीलाई पनि मोर्चामा ल्याउने गरी तयारी छ । तर मोर्चाको यस निर्णयप्रति बाबुराम भने रुष्ट देखिन्छन् । मोर्चालाई ससाना भुरा माछा समाउने ढोक्सो या ढडियासँग तुलना गर्दै उनले आक्रोश पोखेका छन् । प्रचण्ड सत्तामा रहुन्जेल सांसद संख्या पु¥याउन मोर्चा गठन गरेको र अहिले सडकमा पछारिएपछि फेरि ससाना भुरा माछा (पार्टी) समावेश गरी मोर्चालाई ठूलो देखाउन प्रचण्ड उद्यत रहेको बाबुरामको आरोप छ । अर्को पार्टीबाट निर्वाचन लडेको र 
जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गरेर प्रचण्डले निर्लज्जता देखाएको आरोप समेत उनले लगाएका छन् । 

केही दिनअघि उनले सत्ताबाट प्रचण्डको बहिर्गमन पक्का भइसकेपछि अब समाजवादी मोर्चाको ढोक्सो समातेर सडकमा आउँछन् भन्दै व्यंग्य गरेका थिए । त्यो पनि अरुबाट चोरेको भन्दै उनले समाजवादी मोर्चा प्रचण्डले आफूबाट खोसेको या चोरेको रुपमा संकेत गरेका थिए । साथै उनले त्यसअघि प्रचण्डको तेस्रो पटकको लज्जास्पद सत्ता बहिर्गमनपछि माओवादीले कुनै अदृश्य षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर सत्यतथ्यलाई विषयान्तर गर्न नहुने र गम्भीर आत्मसमीक्षा गर्नु उपयुक्त हुने बताएका थिए ।

अघिल्लो निर्वाचनमा समाजवादी मोर्चाको अवधारणा बाबुरामले अघि सारेको बताइन्छ । मोर्चाको बहस उनैले चलाए पनि मोर्चामा उनलाई प्रचण्डले समेटेनन्, अर्थात् कब्जा गरे । समाजवादी मोर्चा बनाउनेदेखि पार्टी एकता गर्नेसम्मका समझदारी बाबुराम–प्रचण्डबीच भएकाले चुनावमा एकै चिह्न लिएर होमिएका थिए । तर प्रचण्ड कहिले देउवा र कहिले ओलीलाई ठगेर डेढ वर्ष प्रधानमन्त्री बन्दासम्म बाबुरामसँग खटपट मात्रै परिरह्यो । ओलीको धोकाले प्रचण्ड सत्ताबाट पछारिएपछि बाबुराम सबैभन्दा बढी खुसी देखिन्छन् । ओलीले देउवासँग सत्ता सहमति गरेपछि बाबुरामले लेखेका थिए– कसैलाई सधैँभरि, सबैलाई केही बेर ठग्न सकिए पनि सबैलाई सधैंभरि ठग्न सकिँदैन । 

प्रचण्डबाट आफू पटकपटक ठगिँदै र धोका खाँदै आएको महसुस गरेका बाबुरामले पछिल्लो समय राजनीतिक शक्ति गुमाइसकेका छन् । त्यही भएर उनी माओवादीसँगै पुनः मिसिन चाहन्थे, तर यसमा पनि प्रचण्ड इमानदार नभएको बताउँदै उनी आगामी निर्वाचन आफू एक्लै लड्ने निष्कर्षमा पुगेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update