काठमाडौँ । सत्ता समीकरणमा आएको बदलाव विस्तारै नोकझोकमा बदलिन थालेको छ । सोमबार संसदमा प्रश्नोत्तर चल्दै गर्दा विषयान्तर गर्दै प्रधानमन्त्री केपी ओलीले विषयबाहिर गएपछि माओवादी केन्द्रले आपत्ति नै जनायो । माओवादी केन्द्रले आपत्ति मात्रै जनाएको छैन, सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नै गर्नुपर्ने स्थिति बन्यो । यसक्रममा प्रधानमन्त्री समेत आक्रोशमा उत्रिए ।
प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको भोलिपल्टै सोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरका लागि उपस्थित भए । तर, प्रश्नउत्तरको पहिलो दिननै प्रधानमन्त्रीले संयम करिब करिब गुमाए । रोष्टममै उनले आक्रोश पोख्न थाले । प्रश्नोत्तर चलिरहेको बेला शून्य समयमा सांसदहरुले राखेका प्रश्नमा प्रवेश गर्दै ओलीले आक्रोश पोखे । शून्य समयमा माओवादी केन्द्रका सांसदले विद्युत प्राधिकारण र सरकारबीच चलिरहेको विवादमा प्रश्न गरेका थिए । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा ओलीले झुटो बोलेको आरोप लगाएका थिए ।
शुन्य समयमा उठेका प्रश्नले ओली क्रोधमा पुगे । सांसदसँगको प्रश्नोत्तर चल्दै गर्दा उनले आफ्नो राजनीतिक जीवनबारे सुनाउदै दाहाल केन्द्रित आक्रामक अभिव्यक्ति दिए । उनले पशुपतिको जलहरी प्रकरणलाई कोट्याउदै संसदले गरिमा कायम राख्नुपर्ने विषय उठाए । यो क्रममा उनका अभिव्यक्ति आक्रोशपूर्ण मात्रै होइन चेतावनी सहितको थियो ।
प्रधानमन्त्रीले यसरी प्रश्नभन्दा बाहिर जान थालेपछि माओवादी केन्द्रले नियमापत्ति जनायो । माओवादी केन्द्रका सांसद वर्षमान पुनले ओलीले बोल्दै गर्दा उठेर नियमापत्ति जनाए ।
वर्षमानले प्रश्न गरेपछि ओली रोकिए । सभामुखले बीचमै ओलीलाई रुलिङ गर्दै गर्दा ओलीले आक्रोश पोखिरहे भने वर्षमानले पनि बोलिरहे ।
सत्ता सहकार्यमा ओलीले नेतृत्व लिन कांग्रेसलाई विश्वासमा लिएपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल बनेको छ । प्रतिपक्षमा पुगेको माओवादी केन्द्र र सत्ता नेतृत्व गरिरहेको एमालेबीच विवाद थप उत्कर्षमा पुगेको देखिन्छ । विद्युत बक्यौताको पक्ष विपक्षमा प्रधानमन्त्री ओलीले संददमा कडा शब्दमा चेतावनी दिदै गर्दा माओवादी केन्द्रले यसको वचाउ गर्दै आएको छ । अहिले विद्युतको विषय सतहमा छ ।
आगामी दिनमा यस्ता थुप्रै कारण सतहमा आउने र एमाले–माओवादीबीचको नोकझोक बढ्ने विश्लेषण राजनीतिज्ञहरुको छ । सत्ता सहकार्य टुटेपछि माओवादी र एमाले दुवै आक्रामक बन्ने शैलीका कारण दुई दलबीचको तिक्तता थप उत्कर्षमा पुग्ने देखिन्छ ।
