News 24 Television
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाद्वारा दाबी पेस

बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

    नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका हुन् । कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उनले मुख्यमन्त्रीमा दाबी पेस गरे । नेता लामालाई आजै प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । 

    मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गरेका थिए । 

  यसैबीच कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालय लिने सहमति भएको जनाइएको छ । मन्त्रालय बाँडफाड समेत भइसकेकाे छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update