काठमाडौं । निलम्बित महामन्त्री मुकुल ढकालको निरन्तरको प्रहार र उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दुतावासलाई पत्र लेखेको प्रकरणले आलोचित बनिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वाले पार्टीको विधान परिमार्जन गर्ने भएको छ ।
विधान परिमार्जनका लागि रास्वपाले ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदललाई ९० दिनभित्र सुझाव प्रतिवेदन बुझाउन समय दिइएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको रास्वपा बैठकले विधान परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले परिमार्जन, संशोधनहरु र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहने गरी कार्यदल बनाएको छ ।
कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ सदस्य रहेका छन् ।
कार्यदलको बैठक बिहिवार नै बस्ने गरी उपसंयोजक र सचिव समेत छनोट गरिएको छ । बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टीका सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । रास्वपाले कर्णाली विशेष अभियान भदौ दोस्रो सप्ताहदेखि शुरुवात गर्दैछ ।
पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने पनि कार्यवाहक प्रवक्ता झाले बताए ।
केन्द्रिय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने, सबै विभागले आफ्नो कार्यविधि समीक्षा गर्ने, कार्यविधि आफैँले प्रश्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रश्ताव गर्ने सैद्धान्तिक सहमति भएको उनले बताए ।
त्यस्तै उपसभामुख इन्दिरा रानाले अमेरिकी दुतावासमा पठाइएको भनिएको पत्र दुतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको हुनाले आर्थिक चलखेल नभएको झाले दाबी गरे ।
उपसभामुख प्रकरणलाई संवैधानिक परिषद्मा बहुमतको लागि भएको चलखेलको रुपमा रास्वपाले लिएको उनको भनाइ छ ।
