काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधन गर्ने सहमतिसहित बनेको सत्ता गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरु सबै भन्दा बढी त्रसित छन् ।
७९ सालको चुनावमा पनि अन्य दलहरुसँग गठबन्धन बनाएर पार्टी अस्तित्व जोगएका यी दलहरुलाई दुई ठूला पार्टीको सत्ता समिकरणले झनै बढी झस्काएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई दिनअघि पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको आशंका ब्यक्त गरेका थिए । एमालेबाट छुट्टिएर दुई वर्षअघि नयाँ पार्टी बनाएका नेता नेपाललाई कांग्रेससँग मिलेर एमालेले आफ्नो पार्टी सिध्याउने हो कि भन्ने त्रासदी हो यो ।
विगतमा कांग्रेसकै आडभरोसा पाएर उनले एमाले फुटाएका थिए । अहिले संविधान संशोधन गर्ने सहमति गर्दै दुई ठूला दलले सत्ता गठबन्धन बनाएपछि आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने हुन् कि भन्ने डर उनलाई छ । कम्युनिस्ट नेता पुष्पलालको जन्म शताब्दीको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा पनि नेपालले उही आशंका दोहो¥याए । संविधान संशोधन पर्दा पछाडिको खेल भएको भन्दै उनले कांग्रेस एमालेको षड्यन्त्र भएको जिकिर गरेका छन् ।
कांग्रेस–एमालेबीच संविधान संशोधन गर्ने भनी भएको सहमतिको डर माधव नेपालललाई मात्र होइन, नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि छ । तर कुन कुन विषयमा संविधान संशोधन गर्ने सहमति गरिएको भन्ने दुई दलले प्रष्ट पारेका छैनन् । नेकपा एमालेका नेताहरुले केही समययता दुई दल मात्रै रहनुपर्ने जस्ता अभिब्यक्ति दिँदै आएका छन् । यो अवधारणा पूरा गर्न उनीहरुले संविधान संशोधन गरी थ्रेस होल्ड बढाउने चाहेको आशंका माओवादी अध्यक्ष प्रचण्डले गरेका छन् ।
संसदको सबै भन्दा ठूला दुई दल कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन आगामी ८४ सालको निर्वाचनसम्म नै लैजाने गरी सहमति बनेको छ । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्नेदेखि संविधान संशोधन गर्ने लगायत ७ बुँदे सहमति प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै सार्वजनिक गरे पनि लिखित सम्झौता सार्वजनिक भएको छैन । त्यसले पनि नेताहरुलाई कांग्रेस–एमालेबीच भित्री सहमतिहरु के छन् भन्ने त्रासदी बढेको छ ।
कांग्रेस र एमालेबीचको सहमतिले मात्रै संविधान संशोधन गर्न दुई तिहाई नपुग्ने अवस्था भएकाले उनीहरुले अन्य साना दललाई पनि सत्तामा लगेका छन् ।
जसले गर्दा प्रधानमन्त्री ओलीले २ तिहाईको विश्वासको मत समेत पाइसकेका छन् । त्यसैले पनि उनीहरु संविधान संशोधनतर्फ अघि बढ्ने डर प्रचण्ड, माधव, झलनाथहरुलाई छ ।
त्यसकारण उनीहरु पुनः सडक आन्दोलन चर्काउने संकेत गरिरहेका छन् । तर समाजवादी मोर्चाको रणनीति पूरा गर्न नसकेका यी दलहरुले आगामी दिनमा सडकको मोर्चा कसरी सम्हाल्छन् र जनताले उनीहरुलाई साथ देलान् कि नदेलान् अहिले नै भन्न कठिन छ ।
