News 24 Television
प्रचण्डले ल्याउदै नयाँ ट्वीस्ट, इसारा कसलाई के ?

काठमाडौं । हुँदाखाँदाको सत्ता गुमेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छटपटीमा छन् । सत्ता गुमेपछि अब बल्ल पार्टी निर्माणमा लाग्नेतर्फ ध्यान गइरहेको छ प्रचण्डको । त्यसैले पनि  उनले अब एक्लै चुनाव लड्ने बताइरहेका छन् ।

प्रचण्ड वर्तमान सत्ता गठबन्धनसँग समेत झस्किएका छन् । कांग्रेस–एमाले मिलेर साना दलमाथि खतरा पैदा गर्न खोजेको आरोप उनको छ । 

उतारचढापको परिस्थितिका बीच शक्ति सञ्चयका लागि अनेक तानाबाना बुनिरहेका प्रचण्ड अब कस्तो बाटो तय गर्ने गरि अघि बढ्लान त ? 

१० वर्ष युद्धपश्चात शान्ति प्रकृयापछिको अधिंकाश समय सत्तामा रहेका नेता हुन, प्रचण्ड । अहिले पनि ठूला दलको सहकार्यले प्रचण्डलाई सत्ताबाट पाखा लगाएपनि उनको दृष्टी सत्तातर्फ नै  छ । यो स्वभाविक नै छ । तर, संविधानसभाको पहिलो निर्वाचनदेखि २०७९ को प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा ओरालो यात्राले थप लखेट्दै गरेको तथ्यले पनि माओवादी केन्द्र आफूलाई साना दलको सूचीमा राख्ने वा के गर्ने भन्ने अन्योलमा छ । 

प्रचण्डले कांग्रेस–एमालेको सत्ता सहकार्यलाई षडयन्त्र भन्नुको कारण आफू सत्ताबाट बाहिरिनु मात्रै होइन् । उनले साना दलमाथि कांग्रेस–एमालेले षडयन्त्र गर्न खोजेको र थ्रेसहोल्ड बढाएर दुई दलीय व्यवस्थामा जान खोजेको भन्दै सडकमै पलेटी कस्ने चेतावनी दिन थालेका छन् । 

मुद्दा र एजेण्डाको हिसाबले माओवादी केन्द्र अग्रपंक्तिमा रहेपनि उनीहरुले निर्णायक कदम चाल्न नसक्दा जनमत ओरालोतर्फ नै लम्किएको देखिन्छ । माओवादी केन्द्रले सत्ताको दोहन लामो समयदेखि गरिरहेको छ भने पटक–पटक सरकारको नेतृत्व समेत गरेको छ । तर, पछिल्लो समय प्रचण्ड अब राजनीतिक शक्ति आर्जन कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गराउनेतर्फ अघि बढ्लान् ? प्रश्न र चासो छ । 

प्रचण्डले अब आफ्नो पार्टीले एक्लै चुनाव लड्ने गरि तयारी गर्ने दाबी गरिरहेकाले पनि अब कसरी अघि बढ्छ माओवादी भन्ने चासो बढ्नु स्वभाविक हो ।

उसोतः माओवादी केन्द्रभित्रै सत्तादेखि सत्तासम्मको यात्राले माओवादी आन्दोलन सकिने भन्दै नेताहरु बैठकमै चर्किन थालेका छन् । पार्टी बैठकले पनि अब जनतामा जाने भनिरहेको देखिन्छ । 

यसरी माओवादी केन्द्रले वामपन्थी एकता, सहकार्य र विभिन्न मोर्चा बनाएर अघि बढ्न खोजेको भएपनि माओवादी अब कस्तो बाटो तय गर्ला यो भावि दिनमा नै बुझिने छ ।

मोर्चा अभ्यास किन ?

माओवादी केन्द्रले कुनै बेला ३२ दलीय मोर्चा बनाएर शक्ति अभ्यास गरेको इतिहास छ । अहिले पनि प्रचण्डले समाजवादी मोर्चाको आवरणमा यस्तो अभ्यास गर्न खोजे । तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटाइदिएपछि फुटेका दुबै पक्षले प्रचण्डलाई साथ दिएको देखिन्न । बरु उनीहरुले एमालेलाई नै समर्थन गरिरहेका छन् । 

यस्तोमा समाजवादी मोर्चामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव र माओवादी केन्द्र छन् । यो परिदृष्यमा अब प्रचण्डले चाल्ने राजनीतिक कदम कस्तो होला ? समाजवादी मोर्चाले सक्रिय हस्तक्षेप र राजनीतिक अधिकारको प्रयोग गर्न सक्ला ?

चासोको विषय हो । शक्ति क्षीण बन्दै गएपछि अनेक ताना बुन्ने प्रचण्ड साना दलमा आफूलाई राख्न नचाहेको र जनमतले सानो दलमा सीमित पार्न खोजेको स्थितिका कारण पनि संकटतर्फ हेलिएका छन् । यि सबै परिवेशको गहन विश्लेषण गर्दै प्रचण्डले अब कस्तो राजनीतिक कदम चाल्लान् ? यो प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update