News 24 Television
ओलीको २५ बुँदे निर्देशन, ५ बजेपछि बैठक राखेर भत्ता नलिन चेतावनी 

काठमाडौं । सरकारको स्थायित्वमा भर नभएकै कारण कर्मचारीतन्त्र नेतृत्वप्रति खास जिम्मेवार बन्न खोज्दैनन् । सरकार बन्ने र भत्किनेक्रम अविछिन्न चल्ने भएकाले कर्मचारीतन्त्रमा बढेको मनोबललाई जनताको पक्षमा काम गर्न उद्दत बनाउने गरि सरकारले काम गर्न सकेको पाइन्न । 

यस्तोमा प्रधानमन्त्री केपी ओलीले दुई वर्ष ढुक्कले सरकारको नेतृत्व गर्ने भन्दै विभिन्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री केपी ओलीले मंगलबार सिंहदरबारमा निर्देशन दिँदै सरकारका काम प्रभावकारी रुपमा गर्न भन्दै नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । 
उनले कार्यालय समयमा काम नगर्ने र समय सकिएपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति अन्त्य गर्न भन्दै २६ बुँदे निर्देशन दिएका छन् । सेवा प्रवाहमा चुस्तता खोजेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सयदिनको प्रतिवेदन तयार पार्न भनेका छन् ।

मन्त्रीलाई अरुको आलोचना नगर्न भनेका ओलीले ढुक्कले काम गर्न निर्देशन दिदै सरकार स्थायित्व बोकेर आएको दाबी समेत गरेका छन् । 

आक्रामक काममा लाग्न निर्देशन दिएका ओलीले कर्मचारीलाई जनताको काममा तलमाथि नगर्न निर्देशन मात्रै दिएका छैनन्, कार्यालय समयमा काम नगर्ने र ५ बजेपछि काम गर्दै भत्ता लिने काम नगर्न चेतावनी नै दिए । 

विभिन्न निर्देशन र चेतावनी दिएका प्रधानमन्त्री ओलीले रेल र पानी जहाज नेपाली जनताको सपना भन्दै फेरि रेल र पानी जहाजको विषय उठाए । 

विकास निर्माणमा जुट्न कर्मचारी र सरकारले मिलेर काम गर्नुपर्ने निर्देशन दिएका ओलीले भनेजस्तै अब सरकारले प्रभावकारी ढंगले काम गर्ला ? ओली सरकारको प्रदर्शन हेर्दा पत्याइ हाल्ने ठाउँ छैन । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update