काठमाडौं । सोंचाई, भनाई र गराईमा एकरुपता हुनु नै सदाचार हो । अझ लोकतन्त्रमा सदाचार सुशासन र समृद्धिको खम्बा हो । गृहमन्त्रालयले सदाचार संहिता नै बनाएको छ ।
प्रधानमन्त्री, मन्त्री, सांसददेखि नेताहरुले सदाचारको वकालत गरिरहेका हुन्छन् । तर राष्ट्रिय सदाचार नीति भने अझै बन्न सकेको छैन । राष्ट्रियसभाका सदस्यहरुले यो बहस थालेका छन् । के हो सदाचार ?
।।
राज्यको नेतृत्वदायी भूमिकामा रहेका नेताहरुमा सदाचार र इमान्दारिता भएन भने मुलुक समृद्ध हुनै सक्दैन । सदाचार सुशासन र समृद्धिको खम्बा हो । तर वर्षौदेखि सदाचार नीति ल्याउनेबारेमा छलफलहरु भइरहे पनि मूर्तता भने पाउन सकेको छैन । खासगरी राज्यका जिम्मेवार निकायमा आसिन ब्यक्तिहरुमा नै सदाचार र नैतिक आचरण देखिदैन । सदाचार र नैतिक आचरण नहुँदा भ्रष्टाचार मौलाउँदै जान्छ ।
भ्रष्टाचारमा नेपालले हरेक वर्षजसो कीर्तिमान बनाउँदै गएको छ । त्यसकारण सदाचार नै भ्रष्टाचार न्यूनीकरणको मुख्य आधार हो । सार्वजनिक पद धारण गरेका ब्यक्तिहरु सदाचार भएमा मुलुकले समृद्धिमा अघि बढ्न समय लाग्दैन ।
त्यसैले राज्यका सबै निकायमा सदाचार कायम हुनुपर्ने भन्दै राष्ट्रियसभाका सदस्यहरुले बहस थालेका छन् । राष्ट्रिय सदाचार नीति आवश्यक रहेको र त्यसको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण हुने सांसदहरुको भनाई छ । सदाचार नैतिक मान्यता भएकाले मुखले भनेर मात्रै नहुने, ब्यवहारमा प्रकट हुनुपर्ने सांसद झक्कु सुवेदीको तर्क छ ।
सदचारका विषयमा जेजस्तो तर्क गरे पनि इमान्दारिता मुख्य कुरा हो । राजनीतिक वृत्तदेखि कर्मचारीहरुमा इमान्दारिता आवश्यक पर्ने सांसदहरुको स्वीकारोक्ति छ । आचरणकै कारणले मुलुक पछाडि परेको छ ।
कतिपय सांसदहरुले भने सदाचार नीति बनाएर मात्रै नहुने बताएका छन् । राज्यले सदाचार लागू गर्ने भए कानून नै बनाउनुपर्ने तर्क छ, नेता बामदेव गौतमको ।
खासगरी नेपालमा कतिपय नीतिहरु भएर पनि कार्यान्वयन हुन सकेको छैन । अझ आचारण भन्ने कुरा त ब्यवहारमा देखिने कुरा हो । त्यसैले सदाचार नीति बनाएर मात्र हुने कुरा होइन । माननीयहरुले नैतिकता, सदाचार र असल आचरणको गफ मात्र होइन, त्यसका लागि ब्यवहारिक रुपमा पनि इमान्दार बन्न जरुरी छ ।
