News 24 Television
 माओवादीमा फेरबदलको तयारी, कसको बलले चल्दैछ जुहारी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी कमिटीलाई चुस्त राख्न पदाधिकारी र स्थायी समिति हेरफेर वा भंग गर्ने गरि छलफल अघि बढाएको छ । 

जनतामा पार्टी कमजोर बन्दै खुम्चिनेक्रम थप बढेको भन्दै पदाधिकारी बैठकमा यसबारे बहस चलेपछि नेताहरुको जिम्मेवारी हेरफेर गर्न प्रचण्ड दबाबमा छन् । यस अवस्थामा के माओवादी केन्द्रले विशेष महाधिवेसनको नाममा पदाधिकारी र स्थायी समिति भंग वा फेरबदल गर्ला त ? 

२०६४ को निर्वाचनपछि २०७९ सालको निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्रको जनमत निरन्तर ओरालोतर्फ लागेको देखिन्छ । पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको माओवादी केन्द्र त्यसपछि नियमित ओरालो यात्रामा छ ।

एक्लै चुनाव लड्दा जित्ने सिट नै कममात्रामा देखिन्छ । यस्तोमा माओवादीले फेरि एक पटक जनतामा जाने र गम्भीर आत्मसमीक्षा गर्ने तयारी गरेको बताइन्छ । केहिदिनसम्म चलेको पदाधिकारी बैठकले माओवादीलाई आत्मनिर्भर बनाउने र एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउनका लागि अभ्यास गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले नै बताइरहेका छन् । 

 प्रचण्ड आफै फिल्डमा खट्ने समेत भनिरहेका छन् । तर, सांगठनिक रुपमा कमजोर बन्दै गएको माओवादी केन्द्रभित्र पदाधिकारी र स्थायी समिति भंग गरेर विशेष महाधिवेशनबाट सानो र चुस्त कमिटी निर्माण गर्ने र पार्टीलाई जनतामा फर्काउनुपर्छ भन्ने मत बलियो देखिन्छ ।

पदाधिकारीमा प्रश्नै–प्रश्न

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिदै पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन् । पार्टी जनतासँग टाढा बन्दै गएको दाबी गरेका गजुरेलले जस्तै, अधिकांशले पार्टी निर्माणमा अबिलम्ब जुट्नुपर्ने र नेताहरुबीचको सम्बन्ध सुमधर हुनुपर्नेमा जोड दिन थालिएको छ ।

यस्तोमा पार्टी महासचिव देव गुरुङले संगठन चलायमान बनाउन नसकेको भन्दै आलोचना समेत भएको देखिन्छ । यस्तोमा प्रचण्डले रोजेर बनाएका महासचिवलाई जिम्मेवारीबाट पर धकेल्नुको सट्टा पदाधिकारी नै भंग गर्ने विकल्पमा प्रचण्डले छलफल गरिरहेका छन् । यस विषयको निर्णयक नतिजाका लागि भने स्थायी समिति हुँदै केन्द्रिय समिति बैठकसम्म कुर्नुपर्ने स्थिति छ । 

विशेष महाधिवेशन

विशेष महाधिवेशन गर्ने मिति तय गर्ने गरि माओवादी केन्द्रले आन्तरिक गृहकार्य गरिरहेको छ । माओवादीभित्र विभिन्न पार्टीसँग एकता, सहकार्य र पार्टी प्रबेश गराएर विशेष महाधिवेशनबाट नयाँ निर्णय लिने गरि तयारी गरिएको छ । 

अहिले नेताहरु सत्तामुखी बन्दा पार्टी कमजोर बनेको निष्कर्षमा पुगेको माओवादी केन्द्रले यहि मौकामा पदाधिकारी र स्थायी समिति भंग गरेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सबैलाई विशेष महाधिवेशनको अवसर पारेर नयाँ संकल्प गर्ने गरि प्रचण्डले आन्तरिक छलफल र तयारी गर्न थालेका छन् । यद्यपी प्रचण्ड पार्टीभित्र ठूलो दबाबमा रहेको बताइन्छ । 

congress-1722648196.JPG
गएका ४ निर्वाचनमा माओवादी केन्द्र निरन्तर जनमत ओरालोतर्फ नै देखिन्छ । मुख्य तीन दलबीचको प्रतिष्प्रर्धालाई आधार मान्दा देखिएको निर्वाचन परिणाम र साना दल तथा समूह पनि उत्तिकै सक्रिय बनिरहेको बेला अब माओवादीले आफ्नो साख जोगाउन प्रयत्न गरेर मात्रै पुग्ला ? प्रश्न र जनमत संकटमा माओवादी केन्द्र हेलिएको छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update