काठमाडौं । प्रधानमन्त्री केपी ओलीले थाइल्याण्ड भ्रमण गर्ने भएका छन् । भदौ तेश्रो साता थाइल्याण्डमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने लागेको बताइएको छ । के ओलीले विदेश भ्रमणको पहिलो सुरुवात बिमस्टेकबाटै गर्लान ?
नेपालमा प्रधानमन्त्री बन्ने वित्तिकै भारत र चीन मध्ये कुन देशमा पहिलो भ्रमण गर्ने भन्ने अन्योलता कायम हुने गरेको देखिन्थ्यो । तर, भारतसँग राम्रो सम्बन्ध स्थापित हुन नसक्नु र चीनको चाहना विपरित सरकार गठनमा वामपन्थी भन्दा बाहिर जानुले ओलीको भ्रमण भारत वा चीनबाट हुने सम्भावना क्षीण बनेको देखिन्छ । दुई तिहाई बढि मतसहित प्रधानमन्त्री बनेका ओलीलाई भारत र चीन दुबै देशले खासै महत्व दिएका छैनन् ।
भारतले लिखित बधाई दिएपनि लिपुलेक, कालापानी, लिम्पियाधुरादेखि नेपालमा सरकार ढाल्न र बनाउन पनि भारतले भूमिका खेल्ने गरेको आरोप लगाउदै ओलीले तितो पोख्ने गरेका छन् ।
सीमा विवाददेखि अन्य विवादमा समेत खरो बोल्ने ओलीलाई भारतीय पक्षले खास ? चाएको देखिन्न भने चीनले पनि नेपालमा वामपन्थी जनमतलाई जोगाउन पार्टी एकतालाई अटुट राख्न ओलीले भूमिका नखेलेको अर्थमा बुझिरहेको छ ।
अझ अमेरिकी सहयोग एमसीसीमा ओलीले देखाएको मौनतालाई चीनले समर्थनको रुपमा बुझेको छ । त्यसैले ओली यो पटक दुवै छिमेकी देशको सद्भावभन्दा बाहिर छन् भन्ने प्रष्टै छ । यस्तोमा ओलीलाई दुबै देशका राजदूतले भेटेर बधाई दिएपनि तत्काल भ्रमणको निम्तो दिएका छैनन् । यसअघि प्रधानमन्त्री बनेका प्रचण्डलाई दुबै देशले दिएको निम्तोले प्रचण्ड भारत जाने कि चीन भन्नेमा अलमलमै परेका थिए ।
थाइल्याण्ड भ्रमण नै पहिलो !
प्रधानमन्त्री केपी ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्डबाटै हुने सम्भावना बलियो छ । ओलीले भदौ तेश्रो साता हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागिता जनाउने गरि परराष्ट्र मन्त्रालयले तयारी गरेको छ । थाइल्याण्डमा बिम्सटेक राष्ट्रहरूको शिखर सम्मेलनमा सदस्य राष्ट्रको कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री ओली थाइल्याण्ड जाने भएका छन् ।
यही सेप्टेम्बर ४ र ५ मा बिम्सटेकको छैटौँ शिखर सम्मेलन हुनेछ । बिम्सटेकको स्थापना घोषणा भएको देश थाइल्याण्डमा हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्याण्ड सदस्य राष्ट्र छन् । सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्र जारी गरेर स्थापना भएको २७ वर्ष पुरानो बिम्सटेकमा नेपाल संस्थापक देश भने होइन । नेपाल सन् २००४ मा मात्रै बिम्सटेकमा प्रवेश भएको हो ।
विदेश भ्रमणको अर्थ
नेपालका दुई ठूला छिमेकी मुलुक भारत र चीनले नेपालमा बन्ने सरकारलाई नजिकबाट हेर्ने गर्छन् । चीन नेपालभित्र हुन सक्ने तिब्बती गतिविधिबाट बढि चिन्तित छ भने भारत आफ्नो मुलुकलाई नेपालको भूमिको दुरुपयोगबाट कुनै नोक्सानी नहोस् भन्ने हेतुले समेत सम्बन्ध विस्तारमा जोड दिने गरेको छ ।
नेपाल भूराजनीतिको प्रखर चपेटामा परेका कारण पनि नेपालबाट हुने उच्चस्तरिय भ्रमणको ठूलो अर्थ हुने गर्छ । यस्तोमा ओलीले पहिलो विदेश भ्रमण भारत वा चीनबाट नभई थाइल्याण्डबाट हुने देखिएका कारण पनि दुई ठूला छिमेकीले नेपाललाई कसरी हेर्छन भन्ने विषय अझैं चासोमा छ ।
