News 24 Television
आलोचित बन्दै गएपछि रास्वपाको यस्तो तयारी 

काठमाडौं । सत्ता पक्षबाट प्रतिपक्षमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाप्रतिको जनमत पछिल्लो समय सकरात्मक छैन । जनमतको यही आशय बुझेको रास्वपा आगामी रणनीतिमा केन्द्रीत भएको छ । 

शुक्रवारदेखि सुरु भएको रास्वपाको दुई दिने क्लोज क्याम्पमा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लगायतमा छलफल भइरहेको छ । 

सरकारबाट बाहिरीएपछि रास्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माण योजना अगाडि बढाएको  छ । शुक्रबारदेखि शुरु भएको २ दिने क्लोज क्याम्पमा पार्टीका पदाधिकारीदेखि केन्द्रीय सदस्यहरु मोवाइल अफ गरेर ६ समूह बनाएर छलफल गरिरहेका छन् । 

रास्वपाको छलफल विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानमा केन्द्रीत छ । छलफलमा केन्द्रीय समितिका सदस्यहरुले बुझाएको कार्ययोजना\सुझावको अध्ययन सभापति रवि लामिछाने र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले गर्ने छन् । त्यसपछि आउने निश्कर्ष अनुसार नै आगामी दिनमा पार्टी सञ्चालन हुने रास्वपाको नेताहरु बताउँछन् । 

रास्वपाको विचार र संगठनका विषयमा स्पष्ट खाका नबनिसकेको भन्दै आलोचना हुँदै आएको छ । क्लोज क्याम्पको छलफलमा पार्टी प्रति उठेका ती प्रश्नहरु पनि समेटिएको छ ।  संसदमा पार्टीको भूमिका बलियो बनाउन सांसदको क्षमता अभिवृद्धि लगायतका विषयमा पनि छलफल भइरहेको छ । गोष्ठि पार्टीको संगठन निर्माणदेखि जनतासंग पार्टी जोड्ने र संसदमा जनताका आवाज कसरी उठाउने भन्नेमा पनि सघन छलफल भइरहेको रास्वापाकी सांसद सोविता गौतमको भनाइ छ ।  

छोटो समयमा नै पुराना दलहरुको रवैयाबाट आजित बनेका असन्तुष्ट जनमतको मन जित्दै नयाँ शक्तिका रुपमा उदाएको रास्वापा सरकारमा सहभागी पछि आलोचित छ । यस्तो अवस्थामा अहिले प्रतिपक्षको भूमिकामा पुग्दा रास्वपाले आफ्नो कामहरुको समीक्षा गर्नु र गल्ती कमजोरी सच्याउन खोज्नु सकरात्मक नै मान्न सकिन्छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update